राजनीति

नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता, गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेकपा एकीकृत समाजवादी (एस) र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा गरिएको छ। अब वामदेव गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बनेका छन्। उनी पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन्।

कार्यक्रममा भावुक हुँदै वामदेव गौतमले भने, “चार वर्षपछि पार्टीमा फर्किन पाउँदा अत्यन्त खुशी छु। म अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु।” उनले १०० वर्षसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय रहने अठोट पनि दोहोर्याए।

वामदेवले एसएलसी थर्ड डिभिजनमा पास गरेको साधारण व्यक्ति भए पनि मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिन पाएकोमा गर्व व्यक्त गरे। उनले राजतन्त्रको अन्त्य र कम्युनिस्ट पार्टीको एकतालाई आफ्नो प्रमुख संकल्पको रूपमा प्रस्तुत गरे।

कार्यक्रममा अध्यक्ष माधव नेपालले नेकपा एमालेसँग कुनै पनि एकताको संभावना नरहेको भन्दै, एमालेकै कारण पार्टी टुक्रिएको र समाजवादी पार्टीलाई सिध्याउने खेल भइरहेको आरोप लगाए। एकता समारोहमा माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालबीच अंगालो आदान–प्रदान गरिएको दृश्यले पुराना कम्युनिस्ट नेताहरूबीचको भावनात्मक पुनर्मिलनलाई झल्कायो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *