काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिन गनेर समय कटाउने होइन, एक वर्षभित्र गर्न सकिने कामको स्पष्ट योजना ल्याउनुपर्ने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारले केवल सत्ता टिकाउने सोच होइन, परिणाममुखी सोच विकसित गर्नुपर्नेमा जोड दिए। “सरकार दिन गनेर बस्ने होइन, एक वर्षपछि कांग्रेसलाई सरकार सुम्पिन्छु भनेर ओलीजस्तो कुरा गर्ने बेला होइन,” उनले भने, “एक वर्षभित्र के गर्ने हो, त्यसको ठोस योजना बनाउने जिम्मेवारी प्रधानमन्त्रीको हो।”
महामन्त्री थापाले वर्तमान सरकारसँग उद्यमशील सोचको खाँचो रहेको उल्लेख गर्दै कांग्रेसले आगामी चुनावअघि नै सरकारमा पुग्दा के गर्ने भन्ने स्पष्ट कार्यदिशा बनाउन प्रशिक्षण कार्यक्रम सुरु गर्ने तयारीमा रहेको जानकारी दिए।
उनका अनुसार, विरोध गर्ने राजनीति गर्न त सजिलो छ, तर जिम्मेवारी पाएको बेला परिणाम देखाउनु नै कठिन चुनौती हो। उनले देशमा उपभोग शक्ति र माग बढिरहेको तर उत्पादनले त्यसलाई थेग्न नसकिरहेको उदाहरण दिँदै, उत्पादनमुखी नीति र योजना तत्काल आवश्यक रहेको बताए।
थापाको भनाइमा अहिलेको सरकार ‘पजामा लगाएर कुर्सीमा बस्ने शैली’बाट बाहिर ननिस्कँदासम्म देशको वास्तविक आवश्यकता सम्बोधन हुँदैन। अब योजना, कार्यान्वयन र परिणामका आधारमा सरकार मूल्यांकन हुने समय आएको उनले दोहोर्याए।




