राजनीति

मन्त्री गुप्ताको प्रतिक्रिया : छानबिन होस्, दोषी ठहरे राजीनामा दिन तयार छु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू संलग्न रहेको भनिएको घुस प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन्। उनले आफू निर्दोष रहेको दाबी गर्दै पार्टीको निर्देशन आएमा राजीनामा दिन पनि तयार रहेको जनाएका छन्।

आइतबार एक सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा गुप्ताले अडियो फर्जी भएको र आफूलाई फसाउने नियोजित षड्यन्त्र रचिएको आरोप लगाए। “अडियोको आवाज मेरो होइन, बनाइएको हो,” उनले स्पष्ट पारे। गुप्ताले कुनै कर्मचारी वा बिचौलियासँग पैसा लिएको प्रमाण नरहेको बताउँदै भने, “पोखराको मालपोत कार्यालय त भूमिसुधार मन्त्रालयअन्तर्गत पर्छ, त्यो मेरो क्षेत्राधिकारमै पर्दैन। मैले कुनै निर्णय गरेको छैन।”

उनले अडियोमा उल्लेखित ‘पोखरा मालपोत’ सम्बन्धी कुरा पनि अस्वीकार गर्दै आफू सरकारी क्वार्टरमा बस्ने र त्यहाँ कुनै ‘घुस’ लेनदेन भएको ठाउँ नै नरहेको बताए। मन्त्री गुप्ताले निष्पक्ष छानबिनको माग गर्दै भने, “दूधको दूध, पानीको पानी होस्। यदि दोषी भए, कारबाही भोग्न तयार छु।” उनले छानबिनका लागि पार्टीले मार्ग प्रशस्त गरोस् भन्ने र यदि पार्टीले निर्देशन दिए, आफू राजीनामा दिन तयार रहेको पनि बताए।

घटना सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग यो विषयबारे संवाद भएको स्वीकार गर्दै गुप्ताले भने, “मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु। उहाँले हेर्छौं भनेका छन्। तर हालसम्म कुनै निर्णय आएको छैन।” मन्त्री गुप्ताले सार्वजनिक अडियो र घुस प्रकरणलाई नितान्त षड्यन्त्र भन्दै अस्वीकार गरे पनि छानबिनप्रति खुलापन देखाएका छन्। अब यो विषयमा पार्टी र सरकारले के निर्णय लिन्छ भन्ने प्रतीक्षामा छ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :
प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडीयाले खोजौं ?
केही दिन अघिदेखि म संग जोडिएर सिलसिले बार रुपमा सरुवा, नियुक्ति लगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन् ।
अब तथ्य खोजौं र प्रमाणित गरौं जसको उत्तर यो समाज र मलाई कसले दिन्छ ?
१, बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाव दिने को हुन ?
२, नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन ?
३, नोटको नम्बर सहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? मलाई थाहा छैन ।
कुन अवस्थामा छ ?
४, प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन ? अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?
५,सुचना प्रविधि ९एआई० को दुरुपयोग गरी निकालिएको मेरो आवाज भनिएको छ कसले पुष्टि गर्ने ? जुन त्यो मेरो आवाज होईन १
यी अनुत्तरित प्रश्नको खोजी गरौं, अनि मात्र सत्य र निष्ठाको पत्रकारिताको जग बलियो बनाउन लागौं ।
म राज्यको चौथो अंग पत्रकारिताको सधै सम्मान गर्ने व्यक्ति हुँ ।
धन्यवाद १

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *