काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी नेतृत्वविरुद्ध बोलेका नेताहरूलाई ‘नोटिसमा राखिएको’ चेतावनी दिँदा उल्टै उनी स्वयं पार्टी कार्यकर्ताहरूको घेरामा परेका छन्। सामाजिक सञ्जालमा एमालेका युवा र विद्यार्थी नेताहरूले ढकालको चेतावनीको कटु प्रतिवाद गरेका छन्।
पार्टीभित्र असहमतिपूर्ण मत राख्नेहरूलाई लक्ष्य गर्दै ढकालले “नेतृत्वलाई अप्ठ्यारो पार्नेहरू नोटिसमा छन्” भनेका थिए। तर तत्कालै राष्ट्रिय युवा संघ नेपालका पूर्वमहासचिव सुमन पुरीले कडा प्रतिक्रिया दिँदै लेखे, “अब हामीले नोटिस गर्न थालेका छौं, त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहदैन।”
पुरी मात्रै होइन, अनेरास्ववियुका प्रकाश पौडेल, प्रेस चौतारीका राजेश राई, अनेरास्ववियुकी आरती भट्टराई लगायतका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत ढकालमाथि सीधै प्रहार गरेका छन्।
राजेश राईले “घमण्डको पहाड” भन्ने साहित्यिक शैलीमा स्टाटस लेख्दै ढकालप्रति कटाक्ष गरे। अर्कोतिर आरती भट्टराईले “ज्वालामुखी बिस्फोट हुन्छ चाँडै” भन्दै आक्रोश पोखिन्। यी सबै नेताहरू हाल संस्थापनइतर धारमा छन् र नेतृत्वद्वारा उपेक्षित महसुस गरिरहेका छन्। गत आमचुनावमा ढकालले पाएको कमजोर मत परिणामसमेत लिएर कार्यकर्ताहरूले उनी नेतृत्व गर्न योग्य नरहेको भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन्। “पार्टीमा स्वाभिमानी कार्यकर्ताहरू छन्, उनीहरूलाई डर देखाएर होइन, विश्वास दिलाएर अघि बढ्नुपर्छ,” भन्ने सन्देश उनीहरूले दिन खोजेका छन्।
एमालेभित्र आन्तरिक असन्तोष झनै सतहमा आउन थालेको छ। भानुभक्त ढकालको ‘नोटिस’ चेतावनीले कार्यकर्ताहरूको दबिएको असन्तुष्टि विस्फोट गराएको देखिन्छ। अब नेतृत्वले यो आवाजलाई दमन गर्ने कि संवादमार्फत सम्बोधन गर्ने भन्ने कुराले पार्टीको आगामी दिशा तय गर्नेछ।




