
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
‘भिजिट भिसा’ प्रकरणमा प्रमुख विपक्षी दलसहित प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएको कारण जेठ १३ गतेदेखि बैठकहरू नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित हुँदै आएका छन्। अवरोध हटाउन दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।
आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सोबारे छलफल हुने उल्लेख छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।