काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको छ।
संवैधानिक इजलासमा लामो समयदेखि हेर्दा हेर्दै मा रहेको यो मुद्दामाथिको सुनुवाइ मंगलबार सकिएपछि पूर्णिमाया लामाको पक्षमा उत्प्रेषणयुक्त आदेश जारी भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सम्मिलित इजलासले उक्त आदेश दिएको हो।
सापकोटालाई माओवादी जनयुद्धका क्रममा काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, पत्रकार कनकमणि दीक्षित र सुशील प्याकुरेलले रिट दायर गरेका थिए। तीमध्ये दुईवटा रिट खारेज भइसकेका छन्।
२०६८ साल असार ६ गते सापकोटाविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यसपछि तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले विषयको संवैधानिक जटिलता रहेको भन्दै मुद्दा संवैधानिक इजलासमा पठाएको थियो।
पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट दायर गरी पतिको हत्यामा सापकोटाको संलग्नता रहेको दाबी गर्दै कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गरेकी थिइन्। यद्यपि, बारम्बार पेशी तोकिए पनि अन्तिम निर्णय भने टर्दै आएको थियो।
यसैबीच, पत्रकार दीक्षितविरुद्ध सापकोटाले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए। सापकोटालाई सभामुख बनाउने निर्णयप्रति असहमति जनाउँदै तत्कालीन राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए।




