काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे उठेको विवादलाई लिएर नेपाली कांग्रेसले मन्त्रीको राजीनामा आवश्यक नरहेको अडान पुनः दोहोर्याएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्रीमाथि कुनै औपचारिक मुद्दा नचलेको अवस्थामा राजीनामाको माग अनुचित भएको निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “मन्त्रीमाथि अख्तियारले कुनै आरोप लगाएको छैन। आरोप लागेको कर्मचारीमाथि मात्रै छानबिन भइरहेको छ। यस्तो अवस्थामा राजीनामाको माग उपयुक्त होइन।” उनले पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दालाई स्मरण गर्दै थपे, “हामीले त्यसबेला पनि प्रमाणसहितको आरोप आउँदा छानबिन समिति गठनको माग गरेका थियौं, राजीनामाको होइन। अहिले त मन्त्रीमाथि आरोप नै छैन।”
महतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएकाले त्यसमा राजनीतिक हस्तक्षेप गर्न नमिल्ने भन्दै कांग्रेसले लेखकको पदमा निरन्तरता दिनुपर्ने पक्षमा निर्णय लिएको छ। यस अडानले सत्तारूढ गठबन्धनभित्र गृहमन्त्रीको हैसियत यथावत् रहने स्पष्ट संकेत दिएको छ।




