काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १० दिने चीन भ्रमण सकाएर फर्किएपछि आफ्नो भ्रमण ‘सकारात्मक र सफल’ भएको बताएकी छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भ्रमण राम्रो भएको बताइन् भने बाँकी विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिने जनाउँदै विमानस्थलबाट बाहिरिइन्।
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपालको आन्तरिक राजनीति विशेषगरी वामपन्थी एकताको सम्भाव्य सन्दर्भमा जोडेर विश्लेषण गरिएको छ। यद्यपि कम्युनिस्ट एकता सम्बन्धी पत्रकारको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिइनन्। भ्रमण टोलीमा सहभागी मन्त्री दामोदर भण्डारीले भने भ्रमणलाई राजनीतिक नेतृत्व हस्तान्तरण वा एकतासँग जोडेर नहेर्न आग्रह गरे।
ूयो भ्रमण शुद्धरूपमा सद्भाव र सम्बन्ध सुदृढ गर्ने उद्देश्यले गरिएको हो,मन्त्री भण्डारीले भने,पार्टीभित्रका नेतृत्व वा महाधिवेशनसँग जोडेर हेरिनु अनुचित हुन्छ। पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १० मा चीनको बेइजिङ प्रस्थान गरेको थियो। भ्रमणमा एमालेका वरिष्ठ नेता र सरकारका प्रतिनिधिको पनि सहभागिता थियो। यस भ्रमणले नेपाल–चीन सम्बन्धमा निरन्तरता दिनुका साथै राजनीतिक सन्देशको बहस पनि सुरु गराएको छ।




