देश

काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।शनिवार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताए ।

काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने बताए । अहिले आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरुबीको संयुक्त सरकार बनाउन केही जटिलताहरू रहेको बताए ।

उनले भने ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरूले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली काँग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताए । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *