काठमाडौँ। संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले पतञ्जली प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय तथा विभिन्न ठाउँहरूमा सोधपुछ गरी प्रतिवेदन बनाएकोमा बैठकले थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको बताए। बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ।
उनले भने, “लामो समयदेखि सात वटा उपसमिति निर्माण गरेर सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूलाई सबैलाई समान समय आवश्यकता महसुस गरी, प्राथमिकता दिइ सम्पन्न गर्नेगरीको तयारी हामीले गरेका थियौँ। त्यसको समय अवधि पुगेन भन्ने आयो। शीघ्र गर्ने र अलिखित हिसाबले एक महिनाभित्र सम्पन्न गर्नेगरी समय थप गरिएको छ। पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको थियो। मन्त्रालय र विभिन्न ठाउँहरूमा हामीले सोधपुछ गरिकन पठाएका थियौँ। त्यसको अन्तिम फाइल बनाएका थियौँ। त्यसलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ।”
सभापति पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र अख्तियारमा थप अनुसन्धानका लागि पठाइसकेको जानकारी दिए।




