राजनीति

लेखा समितिको बैठकमा चर्काचर्की : सत्ता–प्रतिपक्षबीच शब्दको वारपार

काठमाडौं । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच तीव्र भनाभन भयो। नेकपा माओवादी केन्द्र, एमाले, स्वतन्त्र र समाजवादी सांसदहरूबीचको विवादले बैठक केहीबेर तनावपूर्ण बनायो।

माओवादी सांसद अमनलाल मोदीले समितिको सभापति सत्तारूढ दलकै सांसद हुनु उचित नभएको भन्दै आपत्ति जनाए। उनले भने, सभापति तपाईंहरूको पार्टीकै, सदस्य पनि तपाईंहरूकै, अनि प्रश्न पनि तपाईंहरूकै — यसरी कसरी निष्पक्षता हुन्छ ?

सो अभिव्यक्ति पश्चता एमाले सांसद गोकुल बास्कोटा र योगेश भट्टराईसँग मोदीबीच भनाभन सुरु भयो। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि एमाले सांसदलाई मात्रै समय दिएको भन्दै आपत्ति जनाए। सभापति ऋषिकेश पोखरेलले बैठकलाई दलीयकरण नगर्न आग्रह गर्दै सबैलाई बोल्ने अवसर दिइने स्पष्ट पारे।

एकीकृत समाजवादीका सांसद प्रेम आलेले “सत्ता पक्षले दोहोरो बोल्न पाउँछ, हामी किन नपाउने?” भन्दै असन्तुष्टि जनाए। यसको जवाफमा योगेश भट्टराईले “कसले रोक्न सक्छ? म पनि कुरा राख्न पाउँछु” भन्दै प्रतिप्रश्न गरे।

बैठकमा पटक–पटक आपत्ति, प्रतिवाद र आरोप–प्रत्यारोप चले पनि सभापति पोखरेलले नियमअनुसार बैठक अगाडि बढाउने प्रयास गरे। अन्ततः सांसदहरूलाई बोल्ने अवसर दिँदै बैठक पुनः सामान्य अवस्थामा फर्कियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *