काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययनका लागि गठन गरिएको संसदीय उपसमितिमा आफ्ना सांसद नपरेको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।
आजको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उपसमिति गठन गर्दा आफ्ना दलका सांसदहरूलाई बेवास्ता गरिएको गुनासो गरे। उनले भने, हाम्रो पार्टीका माननीयलाई सहभागी नगराइकन उपसमिति बनाइएकोमा गम्भीर आपत्ति जनाउँछु।
मञ्जु खाण संयोजक रहेको उपसमितिमा नेपाली कांग्रेस, एमाले, रास्वपा, राप्रपा र स्वतन्त्र सांसद सहभागी छन्, तर माओवादीको प्रतिनिधित्व छैन। साथै, दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने माग पनि दोहोर्याए। हाल उक्त समितिको सभापति सत्तारुढ एमालेका ऋषिकेश पोखरेल छन्, जसप्रति माओवादीले विगत १० महिनादेखि असन्तुष्टि जनाउँदै आएको छ।




