काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्ति प्रक्रिया यसपटक सामान्य थिएन। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो रस्साकस्सीपछि मात्रै डा. विश्व पौडेल गभर्नर बन्न सफल भए । गभर्नर नियुक्ती प्रक्रिया स्वार्थ समूहको दबाबले निकै पेचिलो बनेको थियो। सत्तामा रहेका राजनैतिक दलसंग सम्बन्ध राख्ने बिचौलियाको चलखेल नियामक निकायहरूमा पछिल्लो समयमा बढ्दै जाँदा गभर्नर नियुक्ति ढिला हुन पुगेको थियो । बिचौलिया समूहको हालीमुहाली, सेयर बजारदेखि बीमा प्राधिकरणसम्मका नियुक्तिमा भएको थियो । बिचौलियाको दबाबलाई परास्त गर्दै सरकारले गभर्नरमा योग्य व्यक्तिलाई नियुक्ति गर्न सफल भएको छ ।
राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगावै नयाँ नियुक्ति हुनुपर्ने भए पनि यसपटक डेढ महिनासम्म कुर्नु पर्यो। स्वार्थ समूहका कारण गर्भनर नियुक्तिमा ढिलाइ भएको चर्चा बाहिर आएको छ ।
यसबीचमा राष्ट्र बैङकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर बन्ने आशामा राजीनामा दिए पनि अन्तिम समयमा उनको नाम प्रधानमन्त्रीको अनिच्छाका कारण सिफारिस हुन सकेन् । नेपाली कांग्रेसले समयमा नै गभर्नर नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएको थियो । तर प्रधानमन्त्री ओलीले बिचौलियाहरुसँगको साँठगाँठका कारण कांग्रेसको आवाजलाई समयमा नै सुन्न र बुझ्न सकेनन्, प्रधानमन्त्री ओलीले गर्भनर नियुक्तिका लागि योग्य क्यान्डीडेट ल्याउन भन्दै कांग्रेसलाई बारम्बार प्रस्ताव गरेपनि नियुक्ति गर्ने तर्फ चासो दिएनन् । आफूले प्रस्ताव गरेको नाममा नयाँ–नयाँ अवरोध प्रधानमन्त्री ओलीले सिर्जना गरेपछि सभापति देउवाले ४८ घण्टे अल्टिमेटम दिएपछि मात्र ओली डा. पौडेललाई राष्ट्र बैङकको गर्भनर नियुक्ती गर्नm राजी भएका थिए । सोही अनुसार मंगलबारको मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्ति गरेको थियो ।
नवनियुक्त गभर्नर पौडेलसँग अन्तराष्ट्रिल क्षेत्रको माथिल्लो निकायमा काम गरेका उत्कृष्ट अनुभव र अर्थतन्त्रको राम्रो ज्ञानको अनुभव छ । बुधबार सपथ पश्चात नवनियुक्त गभर्नर पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्न नवनियुक्त गभर्नर पौडेललाई सुझाव दिएका छन् । अर्थतन्त्र र मौद्रीक क्षेत्रमा देखा परेका समस्या समाधानमा आफूले महत्वपूर्ण पहल गर्ने गभर्नर पौडेलले अर्थमन्त्रीलाई विश्वास दिलाएका छन् ।
गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए । सो अवसर अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।
गभर्नरमा एक योग्य अर्थविद् नियुक्त भएपछि अब “राष्ट्र बैंक सुरक्षित छ” भन्ने विश्वास सबैमा परेको छ । डा. पौडेल गभर्नरमा नियुक्ति भएसँगै सेयर बजारले छलाङ मारेको छ । धितोपत्र बजार बुधबार निकै सक्रिय देखियो। बजार खुलेको पहिलो पाँच मिनेटमै सेयर कारोबार रकम एक अर्ब नाघ्यो। नेप्से परिसूचक छोटो अवधिमा ४८.९५ अंकले उक्लिँदा लगानीकर्तामा उत्साह थपिएको देखिन्छ। सो अवधिमा २३० कम्पनीका सेयर मूल्य बढेका छन् भने मात्र ११ कम्पनीका सेयर घटेका छन्। बजार खुलेदेखि नै देखिएको तीव्र कारोबार र छलाङले लगानीकर्तामा सकारात्मक संकेत दिएको विश्लेषकहरू बताउँछन्। यस्तै नेपाली बजारमा आज सुनचाँदीको मुल्य समेत एकै दिन तोलामा पाँच हजारले वृद्धि भएको छ।




