राजनीति

माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापति साहमाथि माइक प्रहार

काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बुधबार सिंहदरबारस्थित बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समिति सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन्।

बैठकमा ढिला गरी आएका कुसारीले अनुमति नलिई बोल्न थालेपछि सभापति साहले रोक्न खोज्दा विवाद चर्किएको थियो। भनाभनकै क्रममा कुसारीले माइक र नेमप्लेट प्रहार गरेकी हुन्। “उहाँ रिसाएर प्रस्तुत हुनुभयो, माइक फाल्नुभयो, धन्न मलाई लागेन,” सभापति साहले भने।

सभापतिमाथि कुसारीको गम्भीर आरोप

सांसद कुसारीले भने सभापति साह अनुगमनमा सधैं आफैं संयोजक भएर जान्छन्, आफ्नै छोरालाई स्वकीय सचिव बनाएर लैजान्छन्, र अनुगमन खर्चको खाली बिल स्वीकृत गराउँछन् भन्ने आरोप लगाइन्।

उनले सभापतिमाथि महिला सांसदहरूप्रति विभेदकारी व्यवहार गर्ने, एनजिओ/आइएनजिओ मिलाएर निजी भ्रमणजस्तो अनुगमन गर्ने, र समितिको बैठकसमेत कहिल्यै सही एजेन्डामा नबोलाउने आरोप लगाइन्।

कुसारीले भनिन्, “मैले माइक र नेमप्लेटले हानेको हो, तर लागेन। अब या त म समितिबाट बाहिरिन्छु, या सभापति हट्नुपर्छ।”

सभामुखले कुसारी र साहलाई छलफलका लागि बोलाइसकेका छन्। संसदीय मर्यादा भंग गर्ने यो व्यवहारप्रति कस्तो निर्णय लिने भन्नेमा अब संसदीय प्रक्रिया अगाडि बढ्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *