काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच लामो रस्साकस्सीपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको नाममा मोहर लगाएको हो। महाप्रसाद अधिकारीको कार्यकाल सकिएको ४४ दिनपछि राष्ट्र बैंकले नयाँ गभर्नर पाएको हो।
चितवनको रत्ननगरमा जन्मिएका पौडेल अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका अनुभवी अर्थशास्त्री हुन्। उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापकसमेत हुन्।
सरकारी तथा अन्तर्राष्ट्रिय अनुभव
पौडेल राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्षसमेत बने। उनले इसिमोडको सञ्चालक समिति, कोलम्बो प्लान काउन्सिल, सानिमा बैंक, सानिमा मिडिल तमोर हाइड्रोपावर, युलेन्स स्कुल लगायतका संस्थामा नेतृत्वदायी भूमिका खेलेका छन्। साथै, विश्व बैंक र आइएलओमा सल्लाहकारको अनुभवसमेत उनीसँग छ।
प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको पूर्ण दक्षता रहेको छ । पौडेलले चीनबाट इन्जिनियरिङमा स्नातक गरेपछि उनलेअर्थशास्त्रमा पन पूर्ण दक्षता हासिल गरी अर्थशास्त्री बने । हाल पौडेल राष्ट्र बैंकको गभर्नर बन्न सफल भए । अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भइसकेका पौडेलले इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष, कोलम्बोको योजना परिषद् अध्यक्ष र रिजनल इकोनोमिक कर्पोरेसन एन्ड इन्टिग्रेसनको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार समेत भएका पौडेलसँग नेपालको आर्थिक विकासका बारेमा गहिरो बुझाइ छ ।
कांग्रेसको प्रस्तावमा गभर्नर सिफारिस समितिमा बसेका उनले अन्ततः समितिबाट राजीनामा दिएर आफैं गभर्नरको दौडमा सहभागी भए। कांग्रेसबाट उम्मेदवार भएको भन्दै सर्वोच्च अदालतमा उनको योग्यतामाथि प्रश्न उठेको थियो तर अदालतले रिट दरपीठ गर्दै बाटो खुलेको निर्णय दियो।
नयाँ जिम्मेवारी र चुनौतीहरू
पौडेलले अब उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा, मूल्यवृद्धि नियन्त्रण, र बैंकिङ प्रणालीको प्रभावकारिता जस्ता चुनौतीको सामना गर्नुपर्नेछ। नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स को खैरो सूचीमा रहेकाले, त्यो सूचीबाट बाहिर ल्याउन मौद्रिक नीतिको कुशल निर्देशन अपरिहार्य हुने छ।
उनको नियुक्तिको खबरले शेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ — सूचक झन्डै ५० अंकले उकालो लागेको छ। यो लगानीकर्ताबीच पौडेलप्रति रहेको आशाको संकेत हो।




