बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी छन्। दुई महिनादेखि बेलायतमा बस्दै आएकी गुरुङले मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
यद्यपि, उक्त पत्रको विधिसम्मत प्रक्रिया नपुगेको भन्दै प्रदेश सभा सचिवालयले अस्वीकार गरेको छ। सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभा सचिवालयको इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि त्यसमा शंका उठ्ने तत्वहरू देखिएकोले स्पष्टिकरण मागिएको हो।
उनले भने, “हामीलाई इमेलमार्फत राजीनामा पत्र प्राप्त भएको हो, तर त्यो माननीयको लेटरप्याडमा उल्लेख भएको आधिकारिक इमेल ठेगानाबाट नभई अर्कै इमेलबाट आएको पाइयो। सभामुखलाई सम्बोधनको शैली नमिलेको, कुन पदबाट राजीनामा दिइएको हो भन्ने स्पष्ट नभएको, हस्ताक्षर मिल्दो नदेखिएको र ‘गीता’ शब्दको हिज्जे समेत फरक परेकोले पत्र शंकास्पद देखियो।”
यी सबै कारण देखाउँदै सभामुख तुलाराम घर्ती मगरले गुरुङलाई स्वयम् उपस्थित भई हस्ताक्षरको सनाखत गराउन निर्देशन दिएका छन्। सचिवालयका अनुसार, पठाइएको पत्रको आधिकारिक जवाफ प्राप्त भएमा वा गुरुङ स्वयम् उपस्थित भएपछि मात्र प्रक्रिया अघि बढ्नेछ।
समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित गुरुङ प्रदेशसभामा सबैभन्दा कम उपस्थिति जनाउने सदस्य हुन्। प्रवक्ता कमला पोखरेल पौडेलका अनुसार पाँचौं अधिवेशनसम्मका ८३ बैठकमध्ये गुरुङले केवल ३४ दिन मात्रै उपस्थिति जनाएकी छन्।
गुरुङ हाल बेलायतमै रहेकी छन् र उनका छोराछोरी पनि उतै छन्। श्रीमान् कैलाश गुरुङको जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको व्यक्तिगत सम्बन्धका कारण उनी बेलायतमै रहँदा समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्। एक नेताका अनुसार, निर्वाचित भएपछि प्रमाणपत्र लिन नेपाल आएकी गुरुङ दुई पटक बेलायत फर्किएपछि अहिले स्थायी रूपमा उतै बस्ने मनसायले राजीनामा दिइएको हो।
सभामुखलाई सम्बोधन गर्दै पठाइएको राजीनामा पत्रमा गुरुङले लेखेकी छन्, “राष्ट्र, देश र जनता भन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट पारिश्रमिक लिन उचित ठान्दिनँ, त्यसैले आजकै मितिबाट पदमुक्त गरिदिनुहुन राजीनामा पेश गर्दछु।”
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार गुरुङ लामो समयदेखि पार्टी सम्पर्कबाहिर रहेकी छन्। उनले भने, “राजीनामा आएको जानकारीपछि सभामुखलाई स्वीकृतिका लागि आग्रह गरिएको थियो। तर सभामुखले पार्टीको केन्द्रीय समितिबाट कारबाहीको निर्णय ल्याउनू भनेर निर्देशन दिनुभयो।”
उनका अनुसार आइतबारभित्र पार्टीले कारबाहीको टुंगो लगाउने अपेक्षा गरिएको छ। कैलाश गुरुङ मन्त्री पदको बार्गेनिङमा सक्रिय रहेको र हाल जनमत पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरिसकेपछि राजीनामाको विषय चर्चामा आएको गुप्ताले बताए।



