
राजविराज (सप्तरी)। गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन नभई झन् सुदृढ हुने बताए। गृहमन्त्री लेखकले भने, “देश राजनीतिक स्थायित्व र सुशासनतर्फ अगाडि बढिरहेको छ। वर्तमान सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ।” उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी पनि दिए।