काठमाडौं । एकीकृत समाजवादी पार्टी (एस) भित्रको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। पार्टीको भातृ संगठन नेपाल युवा संघमा नेतृत्व चयनको विषयले माधवकुमार नेपाल र झलनाथ खनालबीचको सम्बन्धमा चिसोपन ल्याएको छ।
युवा संघको संयोजकमा रोशन थापाको घोषणा भएपछि खनाल पक्षले सार्वजनिक असहमति जनाएको छ। थापा अध्यक्ष नेपालनिकट हुन् भने अर्का दावेदार सञ्जीप राई (खनाल निकट)लाई बेवास्ता गरिएको भन्दै राई–खनाल समूह आक्रोशित बनेको छ। उनीहरूले यो निर्णय अस्वीकार्य भन्दै ज्ञापनपत्रसमेत बुझाएका छन्।
महाधिवेशनमै थालिएको विवाद सम्मेलन स्थगनसम्म पुगेको थियो। अहिले त्यो असमझदारी झनै गहिरिँदै पार्टीभित्र गुटबन्दी बलियो बन्दै गएको छ। पार्टीभित्र नेपाल, खनाल र घनश्याम भुसालबीच बेग्लाबेग्लै ध्रुवीकरण देखिएको छ। एक समूह एमालेसँग पुनः एकता खोज्दैछ भने अर्को पक्षले त्यसको विरोध गरिरहेको छ। अध्यक्ष नेपाल दुबै धारबीच अलमलिएका छन्।
नेपालको स्वास्थ्य समस्या र पतञ्जलीलाई दिइएको विवादास्पद निर्णयका कारण उनीमाथि सार्वजनिक र राजनीतिक दबाब बढेको छ। सामाजिक सञ्जालदेखि आन्तरिक बैठकसम्म उनलाई ‘अनैतिक निर्णयकर्ता’ भनेर आलोचना गर्न थालिएको छ। पार्टीको भविष्य बन्ने युवा संगठन नै विवादको केन्द्र बनेपछि संगठनको दीर्घकालीन क्षतिमा रूपान्तर हुने खतरा बढेको छ। नेतृत्व समायोजन नभए फुटको सम्भावना अझ बलियो हुने विश्लेषकहरू बताउँछन्।
के अब अध्यक्ष माधव नेपाल यो संकट समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउन सक्लान्? कि एस पार्टी गुटबन्दीको गोलचक्करमै हराउनेछ ? अहिले सो विषयमा नेता तथा कार्यकर्ताहरुले समेत पाटीभित्रको नेतृत्वबारे प्रश्न चिह्न खडा गरिरहेका छन् ।




