काठमाडौं । अमेरिकी संसदीय अनुसन्धान निकाय कंग्रेसनल रिसर्च सर्भिसले नेपालको पछिल्लो राजनीतिक परिवर्तनबारे सार्वजनिक गरेको नयाँ प्रतिवेदनले उदीयमान नेतृत्वबीच सम्भावित मतभेदको संकेत गरेको छ। रिपोर्टका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्य दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने आँकलन गरिएको छ।
प्रतिवेदनमा सन् २०२५ मा भएको ‘जेन–जी आन्दोलन’लाई नेपालको राजनीतिक मोडको मुख्य कारणका रूपमा चित्रण गरिएको छ। सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनले व्यापक जनआक्रोश निम्त्याएको र अन्ततः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत हुन पुगेको उल्लेख गरिएको छ। उक्त आन्दोलनका क्रममा बालेन्द्र शाह एक वैकल्पिक नेताका रूपमा उदाएको रिपोर्टमा उल्लेख छ, यद्यपि उनले अन्तरिम सरकारको नेतृत्व अस्वीकार गरेका थिए। त्यसपछि भएको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ। पुराना दलहरूलाई पछि पार्दै नयाँ राजनीतिक शक्तिको उदयले मतदातामा परिवर्तनको तीव्र चाहना रहेको देखाएको विश्लेषण गरिएको छ। रिपोर्टले बालेन्द्र शाह र रास्वपाबीचको सहकार्यलाई “रणनीतिक तर स्वार्थप्रेरित” गठबन्धनका रूपमा केही पर्यवेक्षकहरूले व्याख्या गरेको पनि उल्लेख गरेको छ।
विश्लेषकहरूको उद्धरण दिँदै प्रतिवेदनमा भनिएको छ कि बालेन्द्र शाह र रवि लामिछाने बीच भविष्यमा नीति, नेतृत्व शैली र प्राथमिकताका आधारमा तनाव उत्पन्न हुन सक्छ। रिपोर्टका अनुसार, शाहको ‘एण्टि–इस्टाब्लिसमेन्ट’ छवि र सुधारमुखी एजेन्डाले लोकप्रियता कमाएको भए पनि उनको प्रशासनिक शैलीबारे मिश्रित प्रतिक्रिया रहेको छ। प्रतिवेदनले नेपाललाई भारत र चीन बीच रहेको रणनीतिक रूपमा संवेदनशील राष्ट्रका रूपमा चित्रण गरेको छ। विशेषगरी चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजनाहरू र तिब्बती शरणार्थी सम्बन्धी मुद्दामा बाह्य चासो बढ्दो रहेको उल्लेख गरिएको छ। रिपोर्टले बालेन्द्र शाह को भ्रष्टाचारविरुद्धको अभियान र आन्दोलनका क्रममा भएका घटनाको जवाफदेहिताले उनको राजनीतिक भविष्य निर्धारण गर्न सक्ने संकेत गरेको छ। अमेरिकी प्रतिवेदनले नेपालको राजनीतिक संक्रमणलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै नयाँ नेतृत्वबीच सहकार्यभन्दा प्रतिस्पर्धा बढ्ने सम्भावनातर्फ संकेत गरेको छ।




