राजनीति

ओली–प्रचण्ड भेटले गठबन्धनलाई असर पर्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटघाटले गठबन्धनको स्थायित्वमा कुनै असर नपर्ने दाबी गरेका छन्। विराटनगरमा आयोजित सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री लेखकले दुई नेताबीचको भेटलाई सामान्य राजनीतिक शिष्टाचारका रूपमा लिइएको बताए।

“ओलीले प्रचण्डसँग फोटो खिच्दैमा गठबन्धनमा खटपट आउँदैन। यो सरकार पाँच वर्षसम्म निरन्तर रहनेछ,” गृहमन्त्री लेखकले स्पष्ट पारे। गृहमन्त्री लेखकले गभर्नर नियुक्ति प्रक्रियामा पनि कुनै समस्या नरहेको दाबी गरे। उनले नेपाली कांग्रेस र एमालेबीचको सहमतिका आधारमा सरकार स्थिर रहेको र यो सहमति पूर्ण कार्यकालसम्म कायम रहने बताए। यो सरकार मुलुकमा व्याप्त निराशालाई चिर्न र आशा जगाउन गठन भएको हो,ू उनले थपे।

लेखकले राजावादी गतिविधिहरूप्रति कडा चेतावनी दिँदै वर्तमान संविधान र संघीयताको विरुद्ध कुनै पनि प्रयासलाई सरकारले कडाईका साथ रोक्ने बताए। नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्रका लागि ठूलो त्याग र बलिदान गरेका छन्। अब यो व्यवस्था परिवर्तनको सपना देख्नु निरर्थक छ, लेखकले स्पष्ट पारे।

गृहमन्त्री लेखकले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। उनले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी हस्तान्तरण गर्दै संघीयताको कार्यान्वयनमा यो कदम महत्वपूर्ण रहेको बताए। कार्यक्रममा उनले भने, संघीय सरकार संघीयताको कार्यान्वयनमा पूर्ण प्रतिबद्ध छ। यसैका लागि शिक्षा, निजामती, र नेपाल प्रहरीसम्बन्धी विधेयक चाँडै पारित गरी संघीयतालाई थप सशक्त बनाइनेछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयताको कार्यान्वयनले प्रदेशलाई थप अधिकार सम्पन्न बनाएको र विकास निर्माणको गति तिब्र भएको बताए। तर, उनले कर्मचारीतन्त्रको पुरानै सोच र ज्ञानको अभावले प्रदेश सरकार सञ्चालनमा केही अवरोधहरू भइरहेको गुनासो पनि राखे।

“प्रदेश सरकार संवैधानिक र कानूनी रूपमा अघि बढ्दैछ। संघीयता कार्यान्वयनले विकेन्द्रीकरणलाई बलियो बनाएको छ,” मुख्यमन्त्री कार्कीले बताए। सरकारको यो कदमले संघीयताको सुदृढीकरणसँगै विकास र विपद् व्यवस्थापनमा पनि थप सशक्तता आउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *