राजनीति

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

१९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि २२ वैशाखदेखि प्रतिनिधिसभामा सुरु भएको विस्तृत छलफल शुक्रबार सम्पन्न भएको थियो। छलफलपछि आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए।

यसपछि, सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रममाथि सांसदहरूले पेश गरेका संशोधन प्रस्तावहरू निर्णयार्थ पेस गरेका थिए। ती सबै संशोधन प्रस्ताव अस्वीकृत भएपछि अन्तिममा सरकारको वार्षिक नीति तथा कार्यक्रम ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो।

आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। यस विषयमा ३० वैशाखदेखि विस्तृत छलफल सुरु हुने जनाइएको छ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ। यसपटक पनि सोही प्रावधानअनुसार विनियोजन विधेयक पेश गरिनेछ। प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *