काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले) का महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन्। “मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं। उहाँहरूको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु,” प्रधानमन्त्रीले लेखेका छन्।
प्रधानमन्त्री ओलीले ३२ वर्षअघि आजकै दिन जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको स्मरण गरेका छन्। “जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो,” प्रधानमन्त्रीले भनेका छन्।
तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटनामा परी निधन भएको थियो।




