काठमाडौं । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वभरका श्रमजीवी वर्गले आफ्नो न्याय, समानता र सम्मानको लागि गरेको गौरवमय संघर्षको सम्झनामा यो दिन मनाइन्छ। १३६औँ श्रमिक दिवस मनाइरहँदा, नेपालका श्रम गर्ने हातहरूले कस्तो जीवन बिताइरहेका छन्? के संविधानले प्रत्याभूत गरेका मौलिक हकहरू उनीहरूको पहुँचमा छन्?
देशको अर्थतन्त्रको मेरुदण्ड हुन्—सडकमा पसिना बगाउने मजदुर, कारखानाको धुलोमा जीवन खोज्ने श्रमिक र खेतबारीमा घामपानी नभनी माटोलाई उर्वर बनाउने किसान। यिनीहरूकै अथक परिश्रमले देशको चक्र चलेको छ। तर, विडम्बना, यिनीहरूकै दैनिकी भने सधैँ कष्टकर र अनिश्चितताले घेरिएको छ।
वर्षौंदेखि श्रमिकका हकअधिकारका बुलन्द आवाजहरू गुञ्जिँदै आएका छन्। थुप्रै ट्रेड युनियन र श्रमिक संगठनहरू खुलेका छन्। नेताहरूले मीठा भाषण दिएका छन्। तर, जब हामी श्रमिकको वास्तविक जीवनको चित्र हेर्छौँ, परिवर्तनको आभास भने कमै भेटिन्छ।
काठमाडौँका गल्लीहरूमा दैनिक ज्यालादारी गर्ने मजदुरको कथा मार्मिक छ। बिहानदेखि साँझसम्म भारी बोक्दा पनि हातमा आउने दुई–तीन सय रुपैयाँले आजको महँगीमा के पुग्छ होला? संविधानले सुनिश्चित गरेको उचित ज्यालाको हक उनीहरूका लागि आकाशको फल जस्तै भएको छ। न कामको सुरक्षा छ, न बिरामी पर्दा उपचारको व्यवस्था। दुर्घटना भए कसले जिम्मेवारी लिन्छ?
त्यसैगरी, गाउँघरका किसानको व्यथा पनि कम पीडादायी छैन। मल, बीउ र सिँचाइको अभावमा उनीहरूको पसिना बालुवामा पानीसरह बगेको छ। उत्पादनको उचित मूल्य नपाउँदा उनीहरू सधैँ ऋणको बोझमा दबिएका हुन्छन्। संविधानले तोकेको खाद्य सम्प्रभुता र किसानको हक केवल कागजमा सीमित भएको अनुभूति हुन्छ।
तर, जब श्रमिकका नेताहरूको जीवनशैलीमा नजर पुर्याउँछौँ, आकाश र जमिनबीचको भिन्नता देखिन्छ। चिल्ला गाडी, विलासी घर र सम्पन्न जीवनशैली—के यो त्यही वर्गको प्रतिनिधित्व हो जसले दिनभरि पसिना बगाएर साँझको छाक टार्न संघर्ष गरिरहेको छ? नेताका चिल्ला मुख र कार्यकर्ताको रगत–पसिनाको यो कस्तो विरोधाभास हो?
के श्रमिकका नाममा राजनीति गर्नेहरूले केवल आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएका हुन्? ट्रेड युनियनहरू किन नेतागिरी गर्ने अखडा बन्दै गएका छन्? श्रमिकको वास्तविक समस्यालाई सम्बोधन गर्न किन ठोस र प्रभावकारी कदम चालिँदैन? संविधानले ग्यारेन्टी गरेको सामाजिक सुरक्षाको हक किन अझै पनि धेरै श्रमिकको पहुँचबाहिर छ?
मे दिवसको यो महत्त्वपूर्ण अवसरमा गम्भीर भएर मनन गर्नुपर्ने बेला आएको छ। अब केवल भाषणबाजी गरेर पुग्दैन, श्रमिकको जीवनमा प्रत्यक्ष र सकारात्मक परिवर्तन देखिने गरी काम गर्नुपर्छ। उनीहरूलाई संविधानले सुनिश्चित गरेको उचित ज्याला, कामको सुरक्षा, स्वास्थ्योपचार र सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराउनुपर्छ।
सरकारले श्रमिकमैत्री नीतिहरू ल्याउनुपर्छ र त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। ट्रेड युनियनहरूले पनि नेतामुखी नभई श्रमिकमुखी भएर काम गर्नुपर्छ। तब मात्र मे दिवसको गरिमा कायम रहन्छ, र श्रमजीवी वर्गले संविधानले दिएको सम्मानजनक जीवन जिउन पाउँछन्। नेताका चिल्ला मुख होइन, श्रमिकको अनुहारमा खुसीको चमक देखिनुपर्छ, यही नै आजको आजको आवश्यकता हो ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा वि .स २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।




