काठमाडौं । तीनकुनेको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउने मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई प्रहरीले १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढुंगानाको इजलासले शुक्रबार प्रहरीको मागअनुसार हिरासत म्याद स्वीकृत गरेको हो। प्रसाईंका अंगरक्षक दिपक खड्कालाई पनि १२ दिनकै म्याद दिइएको छ।
चैत १५ गते तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु, कयौँ घाइते र करोडौंको सम्पत्तिमाथि क्षति भएको थियो। त्यस घटनाको नेतृत्व गरेको आरोप लागेका प्रसाईं घटना लगत्तै फरार भएका थिए।
उनी हाल भारतको आसामबाट पक्राउ परेका हुन्। करीब १० घण्टा लामो सडक यात्रापछि झापा हुँदै उनलाई नेपाल ल्याइएको थियो। आइतबार दिउँसो विमानमार्फत काठमाडौं ल्याएर सिधै जिल्ला प्रहरी परिसरमा पठाइएको हो।
सरकारी वकिल कार्यालयमार्फत म्याद थपको प्रक्रिया पूरा गरेर प्रहरी अब प्रसाईंविरुद्ध आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, संगठित अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने तयारीमा छ।




