देश

प्रधानमन्त्री ओलीको गर्जन: एमालेलाई कमजोर पार्ने प्रयास असफल, समृद्धिको यात्रा कसैले रोक्न सक्दैन

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने दुष्प्रयास कहिल्यै सफल नहुने बताएका छन्। पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको विशाल जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजन गर्न खोज्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू पराजित भएको ठोकुवा गरे।

अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्ने दिवास्वप्न देख्नेहरु कहिल्यै सफल हुनेछैनन्। म धेरै बाँच्ने होइन होला, तर त्यसपछि यो पार्टीमा मभन्दा पनि शक्तिशाली नेताहरू आउनेछन्। यो देशको विकासको भाग्य हामी आफैँ लेख्छौँ। मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनको नारा लगाउनु हास्यास्पद हो।”

उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकले कुशासन र अव्यवस्था मात्रै भोग्नुपरेको स्मरण गराउँदै जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन वर्तमान सरकार हरसम्भव प्रयास गरिरहेको बताए। प्रधानमन्त्री ओलीले विगतका आफ्ना निरंकुशता र कुशासनको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र भ्रम फैलाउन खोजे पनि त्यसबाट कोही विचलित नभई समृद्ध र सुशासनको यात्रामा एकजुट भएर लाग्न सबैलाई आह्वान गरे। अहिलेको आधुनिक युगमा जन्मसिद्ध श्रेष्ठताको खोक्रो सिद्धान्त बोकेर हिँड्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताए।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले लुम्बिनी प्रदेशमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र र कृषि उत्पादन क्षेत्रको विकासका लागि अनगिन्ती योजना र कार्यक्रम ल्याएको दाबी गरे।

सभामा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकास र सुशासनका उदाहरणीय कामलाई छायामा पार्ने गरी फैलाइएका भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र पार्टी नेतृत्वले गरेका कामबारे जोसुकैसँग पनि छलफल गर्न तयार रहेको बताउँदै विपक्षी र प्रतिगामी शक्तिहरूले फैलाउने गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायत उच्चपदस्थ नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *