राजनीति

सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ,हावादारी कुरा नगरौं: महामन्त्री थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा उनले सरकारको यो अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र नेकपा एमालेले लिनुपर्ने बताए ।

उनले यसअघिका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्योल देखिएको बताए । सरकारमा रहँदा राम्रो भन्ने र बाहिर निस्किएपछि नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र त्यसले गरेका कामको जिम्मा नलिने प्रवृत्ति तोड्नुपर्ने बताएका छन् । अबका तीन वर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ०८४ को निर्वाचनमा जनता माझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले उल्लेख गरे ।

संघीयताका विषयमा गलत टिप्पणी गर्ने गरिएको उनले बताएका छन् । हाल समस्या प्रदेशमा नभई संघमा देखिएको उनले जिकिर गरे । तीनै तहका सरकारले एकार्काको अधिकार खोस्ने कार्य गर्न नहुने उनले बताए । महामन्त्री थापाले चैतभित्रमा सदस्यता नवीकरणको काम गरिसक्ने बताएका छन् । उनले सदस्यताको विषयमा समयमै टुंग्याइने बताए छन् ।

उनले भने, ‘केही नेताहरु अधिवेशनबारे बोल्नु भएको छ, तर नेपालको संविधान कानून सबै कुराले २०८४ चुनावपछि महाधिवेशन गर्ने भन्ने कुरा दिँदैन । कतिपयले एउटा सानो पार्टी ल्याएर मिसाएर समय थप्न मिल्छ कि भन्दैछन्, त्यो भए त कुनै पार्टीले कहिले पनि अधिवेशन नगरे हुन्छ । म पार्टीको सभापति भए पहिला सानो पार्टी बनाइदिन्छु, अनि पाँच वर्षपछि त्यसलाई मिलाइदिन्छु अनि म्याद थप्यो भइहाल्यो नि ! त्यसैले यस्तो हावादारी कुराको पछि नलागौं, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’ महामन्त्री थापाले संविधान कानूनअनुसार अधिवेशनको प्रक्रिया प्रारम्भ गरेर महाधिवेशनसम्म पुग्दा २०८३ पुग्न सक्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *