काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको पार्टी पदाधिकारीसहितको बैठकमा सरकारले गरिरहेका काम कारबाही र हालै जारी भएका अध्यादेशहरूको आवश्यकता र औचित्यबारे छलफल भएको भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रले गरिरहेको काम तथा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाही एवं अध्यादेशको आवश्यकताबारे जानकारी गराएको नेपाली काँग्रेसले जनाएको छ ।
यस्तै, बैठकमा विज्ञहरूलाई समेत आमन्त्रण गरी अध्यादेशका अन्तर बस्तुबारे संसद्हरूलाई जानकारी गराइएको र भोलिको बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राख्नुहुने नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा साझा धारणा बनाएर जाने उद्देश्यले नेपाली काँग्रेसले पार्टीका पदाधिकारीहरूसहित संसदीय दलको बैठक बोलाएको हो ।
यसअघि, नेपाली काँग्रेसको हिजो शनिबार बसेको पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठकले सरकारले गरिरहेका कामकारबाहीहरूको समीक्षा गर्नुका साथै अध्यादेशका बारेमा पार्टीभित्र साझा धारणा बनाएर संसद् बैठकमा प्रस्तुत हुने निर्णय गरेको थियो ।




