काठमाडौं । पोखराको सुर्यदर्शन सहकारी प्रकरण र काठमाडौंँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा दुई जिल्ला अदालतको आदेशमा एक करोड, २५ लाख धरौटी बुझाएर रिहा भएका निलम्बित रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जिल्ला अदालत रूपन्देही १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् ।
प्रतिवादी लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि १ करोड धरौटीमा छोड्ने आदेश आएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
माघ ६ मा जिल्ला सरकारी वकिल कार्यालयले रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो ।
गत कात्तिक २ मा पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले दिएको आदेशमा भनिएको छ, ‘‘मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू ।’
रवि लामिछानेले आजै धरौटी बुझाउने तयारी गरेका छन् । आजै बैंक ज्ञारेन्टीमार्फत धरौटी बुझाउने तयारी भइरहेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारस् दिइन् । लामिछानेविरुद्ध अब दुई जिल्ला चितवन र पर्सामा अनुसन्धान हुने छ । चितवनमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यलयमा दर्ता भइसकेको छ भने पर्सामा अनुसन्धान हुन बाँकी छ ।




