राजनीति

सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइँदैन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।

शनिवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अभियान्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरू रहेको बताए ।

उनले जान्नेलाई छान्ने भन्नेहरूले नेपालको कानुन पहिला जान्नुपर्ने बताए । अब युवाहरूले बुझिसकेको भन्दै युवाहरू भ्रमित नहुने बताए । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरू र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताए । राजनीति आफैँमा एउटा विज्ञान भएको बताए ।

उनले भने ‘पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्दछ । कस्तो नयाँ खोज्नुपर्दछ । नयाँ खोज्नेहरूले नारा लगाए, जान्नेलाई छान्नुपर्दछ । नारा सारै मिठो थियो । छान्नै पर्दछ, जान्नेलाई नै छान्नुपर्दछ । तर कस्ता रहेछन् त नेता भन्दा सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने कानुन पनि पढ्न नजान्नेहरू जान्नेलाई छान्नेका अभियान कर्ता रहेछन् । नेपालको कानुन के छ ? भन्नेकुरा त जान्नुपर्यो नि, जान्नेलाई छान्नेहरूले । परेन ? कुनैपनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्नुपर्दछ भन्ने मान्यताका आधारमा त्यो रकमको सदुपयोग गर्नुपर्दछ, भन्नेकुरा त जान्नुपर्यो नि । जहाँबाट पनि ल्याएको छ, मनपरी खर्च गरेको छ । संस्था डुबाएको छ । नारा लगाएको छ, जान्नेलाई छान्ने ? त्यसका पछाडि युवालाई भ्रममा पार्ने । अब युवाहरू भ्रमित हुनेवाला छैनन् । जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको थियो भन्नेकुरा युवाहरूले अब बुझिसकेका छन् । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएका, एक प्रकारले भन्ने हो भने राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइन्छ भन्ने हुँदैन । राजनीति आफैँमा एउटा विज्ञान हो ।’

महासचिव पोखरेलले राजनीति गर्नेहरूले सङ्घर्ष गर्न सक्नुपर्ने र धैर्यता राख्न सक्नुपर्ने बताए । सयौँ फूलहरू फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरू खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बताए । समाजवादका नाममा अनेक प्रकारका दलहरूले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *