काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस बिहीबार स्थिगित गरिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि शुक्रबार पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजाे बयानका लागि जिल्ला अदालत रुपन्देशीमा उपस्थित भएका थिए । बुधबार लामिछानेमाथिको बयान लिइएको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेमाथिको थुनछेक बहस जारी छ । हिजोँ झैँ आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ । बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितका तर्फबाट बहसका लागि सोही जिल्ला पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने शुक्रबार बहस गर्ने जनाइएको छ ।
बिहीबार भएको थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछानेलाई बिहीबार किन आफन्तको जिम्मा लगाइयो भन्दै जिल्ला अदालत रुपन्देशीका न्यायाधीसमाथि प्रश्न समेत गरेका थिए । सरकारी वकिलहरुले न्यायाधीस योगीलाई बहस नगर्न समेत आग्रह गरेका थिए । तर न्यायाधीस योगीले आफूले सुरु गरेको बहस अन्त्य गरेरै छोड्ने अठोट लिए ।
यस्तै लामिछानेविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देही जिल्ला अदालतमा बहस सकेका छन् । उनले जाहेरीकर्ताको तर्फबाट बहसमा भाग लिएका थिए । त्रिपाठीले यसअघि काठमाडौं जिल्ला अदालतमा पनि रविविरुद्ध बहस गरेका थिए । बहस सकेर निस्किँदा उनीमाथि रास्वपा कार्यकर्ताहरुले हातपात गरेका थिए । सो घटनामा तीजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बुधबार लामिछानेविरुद्धको बहसका लागि बुधबार नै रुपन्देही पुगेका वरिष्ठ अधिवक्ता त्रिपाठीले लामिछानेलाई थुनामा पठाउन माग राख्दै बहस गरे । उनले सहकारी प्रकरणलाई राजनीतिको अपराधीकरण गरेको भन्दै ‘स्मार्ट ठगी’ को संज्ञा दिएका छन् । रवि गृहमन्त्री हुँदा मुद्दा नचलेको र अनुसन्धान अधिकृतको सरुवा भएको उनले बताउँदै प्रधानमन्त्री र महानिरीक्षकले पनि गलत जानकारी दिएको दावी गरे । अपराधमा पैसाका आधारमा दोषिलाई उन्मुक्ति दिन हुने समेत बताए ।
सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो । पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि लामिछानेले कास्की पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा समेत हाजिर भएका थिए । काठमाडौंको मुद्दामा पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।




