राजनीति

संसद् अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी थालेको छ । सत्ता प्रतिपक्ष दलहरुले संसदको हिउँदे अधिवेशन नबोलाएको भन्दै असन्तुष्टि पोखिरहेका बेला सरकारले माघ १८ गतेबाट संघीय संसदको अधिवेशन बोलाउनेबारे छलफललाई तिव्रता दिएको छ । सत्तारुढ दलका नेताहरूले अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भइसकेको बताएका छन् ।

सत्तारुढ दलका नेताहरुका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्ने अर्थात यसअघिको मन्त्रिपरिषदमा भएको छलफलका आधारमा समेत निर्णय गरेर राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको तयारी छ ।

गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो । विपक्षी दलहरूले सरकारले समयमा अधिवेशन बोलाउनुपर्ने भन्दै ध्यानाकर्षण जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा बोल्दै सरकारले समयमा नै अधिवेशन बोलाउने तयारी गरेको बताएका थिए ।

एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *