काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । स्वर्गीय ढुंगानालाई उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिएका छन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । अन्त्यष्टी समारोहमा सर्व साधारणदेखी विशिष्ट व्यक्तिहरुको बाक्लो भिड लागेको छ ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय ढुंगानाको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,पूर्वराष्ट्रपति डा.रामवरण यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस्तै नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा एक दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको पौडेलले जानकारी दिए ।













