काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेपनि अदालतले १० दिन थुुनामा राखेर अनुमति दिएको हो ।
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।




