काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल आएका छन् । सोमबार नेपाल आएका राजापाक्षे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । राजापाक्षे श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले जानकारी दिएको हो ।
व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणमा नेपाल आएका राजापाक्षेले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ । आजै श्रीलंकामा नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । श्रीलंकामा भएको विशाल आन्दोलनका कारण उनले दुई वर्षअघि देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।
श्रीलङ्कामा नयाँराष्ट्रपतिको सपथ
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए ।
सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो । सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहणपछि दिसानायकाले भने , “जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।” उनले भने , “म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।”
प्रधानमन्त्रीद्वारा राजिनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका हुन् । दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए ।




