कला/साहित्य

सिद्धिचरण श्रेष्ठ : युग परिवर्तनका सशक्त प्रतिभा

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारको रूपमा चिनिन्छन् । उनको जन्म वि.सं. १९६९ जेठ ९ गते शुक्ल पञ्चमीको दिन ओखलढुङ्गामा भएको थियो । सिद्धिचरणका बुबा विष्णुचरण श्रेष्ठ जागिरको क्रममा ओखलढुङ्गा पुगेर त्यहीँ घरबास गरेर बसेका थिए । उनी सात वर्षको उमेरमा काठमाडौँ आई दरबार हाइस्कुलमा आठौँ श्रेणीसम्म पढे । त्यसपछि पढाइ छाडी घरमै स्वाध्यायन गरे । नेपालकै तत्कालीन प्रसिद्ध महावीर स्कुलमा शिक्षकसमेत बनेर अध्यापन कार्य गरे ।

मानवीय संवेदनाका मार्मिक भाव संयोजन गरी अन्याय अत्याचारको विरुद्धमा सिर्जित उनका कवितामा राष्ट्र, राष्ट्रियताप्रति आस्था, जन्मभूमिको माया र निम्नवर्गप्रति आगाध स्नेहको भाव अभिव्यक्ति नै उनको प्रमुख विशेषता हो । सिद्धिचरणले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग सहकार्य गरी स्वच्छन्दतावादी–प्रगतिवादी कवितालाई समृद्धि र समुन्नत गर्ने काममा ठुलो योगदान गरे । वि.सं. १९९० सालमा गोरखापत्रमा प्रकाशित भुइँचालो शीर्षकको कविताबाट उनी साहित्यमा लागेका हुन् । मात्रिक छन्दमा तथा मुक्तक छन्दमा लेखिएका कवितामा अशिक्षा, गरिबी, असमानताजस्ता विषयवस्तुलाई समेटेर लेख्थे उनी ।

सिद्धिचरणको वि.सं. २००६ सालको शारदा पत्रिकामा प्रकाशित ‘मेरो प्रतिबिम्ब’ शीर्षकको कविता नै पहिलो हो । यस कवितामा २००२ देखि २००६ सालसम्मका कविताहरूले प्रवेश पाएका छन् । उक्त कविता राष्ट्रिय जनजीवनप्रतिको चासो तीव्र रूपमा लेखिएको छ । पाँच–पाँच हरफका चार श्लोकहरूमा संरचित मानवको स्वाभिमानमा आँच आएको प्रश्नोत्तर शैलीमा कविता लेखेका छन् । सरल, सरस तथा कोमल भावपूर्ण शब्दावली प्रयोग गरेर उनले राणाकालमा जनताले जीवन व्यतीत गर्दा भोगेको कष्टलाई मुखरित गरिएको छ ।

मानिस साहित्यमा लाग्नुका आआफ्ना कारण हुन्छन् । यद्यपि यसका बारेमा सिद्धिचरणको भनाइ यस्तो छ–“आमाहरूले भानुभक्त रामायण र सुब्बा होमनाथको कविता पढेको सुन्दा र साहित्यिक गुरु ऋद्धिबहादुर मल्लसँगै बस्दा साहित्यिक अभिरुचि बढ्दै गयो । ९० सालको भुइँचालोको वीभत्स रूप देखेर कवि भएँ र भुइँचालो भन्ने कविता लेखेँ त्यही सालमा । त्यो कविता गोरखापत्रमा छापियो । यसरी मेरो साहित्यिक जीवन सुरु भयो ।”जीवनमा एक सीमितता हुन्छ । भलै जीवन एक यात्रा हो जुन यात्रा स्वतन्त्र हुनुपर्दछ । यात्रा उद्देश्यहीन हुँदैन ।

यात्राले गन्तव्य चुम्नुपर्दछ ः
प्रकृति हो तर रूपविहीन,
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्माहीन,
चारैतिरको वन्द विचार–
यो मेरो प्रतिविम्व हिँडेको ।

राणाकालीन समयमा मान्छेको स्थान पशुसरह नै थियो । विवेकहीनता, शून्यताले प्रश्रय पाएको छ । उनले नेपाली समाज, आर्थिक र राजनैतिक विषमता, विसङ्गति र विकृतिप्रति आव्रmोश कवितामा पोखेका छन् । प्रश्नोत्तर ढाँचामा लेखिएको कविताले आम नागरिकले स्वतन्त्रता नपाएकाले सिङ्गो समाज र नागरिकलाई आफ्नै प्रतिबिम्ब बनाएर उनले कवितामा भाव व्यक्त गरेका छन् । कविताको मूल सन्देश नै मानवीय अस्तित्वको खोजी हो ।
क्यै हारे झै क्यै बिर्से झैँ,
को त्यो पथमा आइरहेको ?
कुक्कुर जस्तै लुरुलुरु हिँड्दै,
दर्वलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको ?

सिद्धिचरण लेखनीको साथै समाजसेवा र राजनीतिमा समेत सक्रिय थिए । वि.सं. १९९६ तिर राजनीतिमा बढी नै सक्रिय भएको देखिन्छ । त्यसताक विद्रोह र क्रान्तिकारी कविता लेखे । वि.सं. २००७ सालदेखि लेखनमा कम राजनीति र समाजसेवातिर पूर्ण रूपमा लागे । तसर्थ कविता छायामा परेकोले अपेक्षित लेखन कम भए तापनि गुणस्तर भने कमी भएन ।

वि.सं. १९९७ सालको सहिद काण्डपछि विद्रोह र क्रान्तिकारी कविका रूपमा देखापरेका सिद्धिचरणले राणाशासन कालमा राणातन्त्रले गरेको अन्याय, अत्याचार, दमन र शोषणको विरुद्धमा कलम चलाएकाले लामो समयसम्म बन्दी भएर बस्नुप¥यो ।
प्रकृति र मानवीय गहिरो सम्बन्ध देखाई कविता कोर्न खप्पिस सिद्धिचरणले लेखेको ‘मेरो पियारो ओखलढुङ्गा’ बाट प्रकृतिप्रेमी कविको रूपमा बहुचर्चित भए ।

उक्त कविता १९९२ मा शारदा पत्रिकामा छापिएको थियो । यस कवितामा पाँच–पाँच पङ्क्तिको एक श्लोक भएको र जम्मा आठ श्लोकमा टुङ्गिएको छ । प्रत्येक श्लोकको अन्त्यमा मेरो प्यारो ओखलढुङ्गा वाक्यलाई पुनरावृत्ति गरिएको छ । आफू जन्मी, हुर्की खेलेको ठाउँ सबैलाई प्यारो नै लाग्छ । कविलाई पनि ओखलढुङ्गाको प्राकृतिक सुन्दरताले मन तानेको हुन सक्छ । कविले ओखलढुङ्गा छोड्दाको सस्मरण वा सम्झनामा यस्तो भावना व्यक्त गरेका छन् ः
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हास्यो, खेल्यो, वन–कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा ।
०००
भाग्य–लहरमा लहरी–लहरी
पुगेँ म यस मरुस्थलमा कसरी
तर, खेद छैन तिम्रै आकृति
लेखिएको छ यो ह्रदयभरि
मेरो प्यारो ओखलढुङ्गा !

राणाकालीन राज्य व्यवस्थामा निर्धक्कसँग कविता लेख्न र वाचन गर्न समय थिएन । आफू राणा शासनका एक कर्मचारी भए तापनि आँट गरेर लेखे ः
खोलनलाई जनको चाला,
बोल्छु म जो डरको भाषा
रोक्दछ भन्दैमा वैभवको पथ
के म नलेखुँ अब कविता ?

नेपाली साहित्यको फाँटमा युगकविका रूपमा प्रसिद्धि पाएका कवि श्रेष्ठका कवितातर्फ मेरो प्रतिबिम्ब (२०२१), कोपिला (२०२१), कुहिरो र घाम (२०४५), सिद्धिचरणका प्रतिनिधि कविता (२०४५), तिरमिर तारा
(२०४६) र बाँचिरहेको आवाज (२०४६) जस्ता कृतिहरू प्रकाशित छन् ।
त्यस्तै खण्डकाव्यतर्फ उर्वशी (२०१७), ज्यानमारा शैल (२०२३), मङ्गलमान (२०४९) र आँसु(२०५०) प्रकाशित छन् । यसबाहेक उनले नेवारी भाषामा सीस्वाँ, फूस्वाँ र सिद्धिचरणया ग्वय्स्वाँँ (२०४७), लुभुनी (२०४७), तृष्णा (२०४७), बाखँमुना (कथासङ्ग्रह), नारी हृदय (कथा र नाटक (२०४९), सिद्धिचरणया निबन्ध (२०५०), धमा (भूमिकासङ्ग्रह) जस्ता पुस्तकहरू प्रकाशित छन् । अझै पनि उनका केही अप्रकाशित पाण्डुलिपि रहेका छन् । उनका कृति र विभिन्न पत्रपत्रिकामा जम्मा जम्मी ५०० ओटा जति कविता छापिएका छन् ।

सिद्धिचरणले आफ्नो जीवनकालमा विभिन्न जिम्मेवारी समालेका थिए । तिनमाः शारदा पत्रिकाका सम्पादक (१९९१), गोरखापत्रका सम्पादक (२००५), कविता पत्रिकाका सम्पादक (२०१२), रोयल नेपाल एकेडेमी सदस्य (२०१४) आदि । नेपाली समालोचकहरूले सिद्धिचरण श्रेष्ठको लेखनीको विषयलाई बढी चर्चामा ल्याए । उनी लक्ष्मीप्रसाद देवकोटाभन्दा स्तरीय कविको रूपमा दर्ज भएको कुरा केही समालोचकहरूको लेखनीको कथन थियो । जे जस्तो भए तापनि उनले पद्य, गद्य, लोक र गीतिलय गरी विभिन्न लयमा कविताहरू लेखे । त्यसैको परिणामस्वरूप उनका विभिन्न पदक र पुरस्कारबाट सम्मानित हुनुभयो । जस्तैः त्रिभुवन पुरस्कार (२०१७), पृथ्वी प्रज्ञा पुरस्कार (२०४५), भूकम्प तक्मा (१९९०), रत्नश्री सुवर्ण पदक (२०३१), वेदनिधि पुरस्कार (२०४६), गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट र श्रीरामपट्ट ।

वि.सं. १९९७ सालमा राणाको निरङ्कुशता, विरोधी र आत्मसमर्पण नगरी तातो गोली खाने र फाँसीमा झुन्डन तयार भएका सहिदको बलिदानीले चेतनशील नेपाली युवा पुस्तामा विद्रोह मन सलबलाउन थालिसकेको थियो ।
उनले कविता लेख्ने क्रममा वर्षा शीर्षकको कविता लेखे । उक्त कवितामा क्रान्ति गरेपछि मात्र शान्ति आउने भाव यसरी पोखे ः
हुँकार्छु खूब रिसले जगलाई हाँकी
मास्दै सबै अशुभ वस्तु कुनै नराखी
के हुन्छ शान्ति नभईकन घोर क्रान्ति
त्यो शान्ति स्वच्छ नभइ कुनै हुन्छ भ्रान्ति ।

त्यसै समयमा राणा शासकले सिद्धिचरणलाई समाती बन्दी बनाए । उनले राणा समक्ष आत्मसमर्पण नगरेकाले १८ वर्षसम्म बन्दी जीवन बिताउन बाध्य भए । बन्दी जीवनमा राणातन्त्रको विरोधमा उर्वशी खण्डकाव्य लेखे । यस खण्डकाव्य १९९७ बाट सुरु गरी २००२ सालमा पूरा गरे । उनलाई समात्दा उनको घरमा खानतलासी समेत गरियो । उनले लेखेका पाण्डुलिपि धेरै जफत गरियो ।

उर्वशी खण्डकाव्य प्रस्तावना, आख्यान र उपसंहार गरी तीन खण्डमा विभाजित छन् । प्रस्तावना खण्डमा ४८, आख्यान खण्डमा ८५५ र उपसंहार खण्डमा ६४ पृष्ठ गरी जम्मा ९६७ पृष्ठ रहेको छ । स्वर्गलोकमा दानवहरूले देवगणहरूलाई हेप्ने, पेल्ने र उत्पात मच्चाई बस्नै नदिएपछि अर्जुनसँग सहयोग मागिएको र अर्जुन स्वर्गलोक गई दानवहरूलाई परास्त गरी खुसी ल्याई विजयी उत्सव मनाई अर्जुनलाई भव्य स्वागत गरी मनाएको चर्चा गरिएको छ ।
राणा शासनको ताण्डव नृत्यसँग तुलना गरेर अर्जुनलाई अग्रभागमा उभ्याई यस काव्यको प्रारम्भ गरेका हुन् । महाभारतमा पाइने पौराणिक अवस्थाको चित्रण गरी राणाको विरुद्धमा कवि आफै अर्जुन बनेका छन्–उर्वशीभित्र ।
निशिदिन मेरो प्रविश्वास बढी
खोजेको वस्तु तिमी नै,
पालन गर या मार मलाई
मेरा मालिक तिमी नै !

सिद्धिचरणले बन्दी जीवन बिताउँदाको बिचमा पिताको मृत्यु भएको थियो । आफ्ना पिताको मृत्युको खबर सुनेर उनी मूर्छित भए । चारदिवारभित्रबाटै उनले आफ्नो मृतक पिताको तर्पण कवितामार्फत यसरी दिएका थिए ः
शोषकहरूको यस्तै चड्का,
अत्याचारी लात र धड्का
पाई बाको प्रिय छोरो,
बाँचिरहोस् अझ बाँचिरहोस् ।

उनले देशभक्तिको कविता पनि बेजोडले लेखेका छन् । नेपाली भनेका अर्काको पीडामाथि मलम लगाउन पछि नपर्ने र आपूmमाथि आइलाग्नेप्रति जाइलाग्न पनि पछि नपर्ने भावको अभिव्यक्ति यस्तो छ ः
नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छू बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्यून हर्दम तयार
मेरो यै नै प्रिय खुकुरी हेर भै होशियार ।

नेपाली साहित्यमा प्रतीकका रूपमा खुकुरीलाई लिइन्छ । खुकुरीकै भरमा गोरखालीले वीरता प्रस्तुत गरे । विभिन्न समयमा घटेका घटनाको बेलीबिस्तार कवितामा गरिँदै आएका छन् । त्यसैले खुकुरीलाई राष्ट्रिय हतियार मानिँदै आएको छ । कवि सिद्धिचरणले पनि ‘परिचय’ कवितामा खुकुरीको प्रशंसा गर्न भ्याएका छन् । खुकुरीबाट नै अन्याय अत्याचारको अन्त गरिन्छ ।
तातो रातो रगत रिपुको प्यून हर्दम् तयार
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होशियार ।

शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्षा यै हो परहित गरूँ आखिरी श्वाससम्म ।

ज्वाला दन्कोस् दनदन जहाँ, मृत्यू आई फुकेको
पापचारी यदि छ त त्यहाँ माथ नै ताक्छु त्यसको ।

यिनले आफ्नो जीवनकालमा युरोप, सोभियत सङ्घ, उत्तर कोरिया, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, फिनल्यान्ड जस्ता देशहरूको भ्रमणसमेत गरे । जीवनको उत्तराद्र्धतिरका कवितामा आध्यात्मिकताप्रतिको आकर्षण अभिव्यञ्जित गर्न सक्रिय देखिएका युगकवि सिद्धिचरण श्रेष्ठको मृत्युवरण वि.सं. २०४९ साल जेठ २२ गते काठमाडौँमा भयो ।

अन्तमा, कविता लेखेकै भरमा राणाहरूले उनलाई १८ वर्षसम्म कारागारको सजाय दिए । तसर्थ आम नागरिकले उनलाई युगकविको उपाधि दिए । उनको भौतिक शरीर नरहे तापनि उनीद्वारा लेखिएका पुस्तक जीवित छन् । तमाम नागरिकलाई नैतिकवान् बन्न र सम्मुनत समाज निर्माणका लागि ती कृतिहरू सहयोगी सिद्ध हुने नै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *