काठमाडौं । प्रमुख विपक्षी दल एमालेले ०८४ सम्म कुर्न नसकिने भन्दै तत्काल गठबन्धन तोडेर नयाँ सरकार वा मध्यावधि निर्वाचनमा देशलाई लैजानुपर्ने भन्दै कसरत सुरु गरेको छ ।
केही दिनयता एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरूको अभिव्यक्ति विश्लेषण गर्दा उसले सरकारविरुद्ध आन्दोलनको ‘वार्मअप’ सुरु गरेको सन्देश दिएको छ ।
बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ, तर लोभीपापीहरू नभत्किन सक्छन्,’ उनले भने, ‘यिनीहरू सबैको घाँटी, शरीर एकैठाउँ जोडिएको छ । यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ,’ उनले भने ।
केही दिनकै तयारीमा निर्णायक लडाइँका लागि पार्टीले आन्दोलन आह्वान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए । ‘आन्दोलनका निम्ति पार्टीले जतिवेला सिठी बजाउँछ, त्यतिवेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तीन दिनको तयारीमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रिनुपर्ने हुन सक्छ ।
यो मानसिकताका साथ हामी जानुपर्छ,’ उनले भने, ‘उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् । त्यसकारण समय घर्किनुअगावै हामीले निर्णायक कदम चाल्नुपर्ने हुन सक्छ र यसका लागि तयार रहनुपर्ने आवश्यकता छ ।’
गत माघ २ गते पार्टी कार्यालयमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा पनि ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको भन्दै तयारीमा रहन निर्देशन दिएका थिए ।
त्यसअघि पुस २४ मा जनवर्गीय संगठनका प्रमुखहरूलाई पार्टी कार्यालयमा बोलाएर महासचिव शंकर पोखरेलले सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रियता र स्वाधीनतामाथि समेत गम्भीर आँच पुग्ने काम गरेको भन्दै आन्दोलनको वार्मअप सुरु गर्न निर्देशन दिएका थिए ।
तर एमाले अध्यक्ष ओली र महासचिवको अभिव्यक्तिलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले खुला च्यालेन्ज दिएका छन् । राष्ट्रिय सभामा कोशी प्रदेशका उम्मेदवारसमेत रहेका उनले बिहीबार ओखलढुंगा पुगेर गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताए ।
गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनले दाबी गरे । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो । ‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन ।
संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२(६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ,’ उनले भने, ‘यो गठबन्धनको भविष्य छैन ।
आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।’




