काठमाडौं । नेपाललाई चार विकेटले पराजित गर्दै युएईले टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ। शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो।
युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्का हिर्काएका थिए।
त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे। १५औं ओभरमा अलिसान शराफुलाई अभिनास बोहराले आउट गर्दा अर्को ओभरमा वृत्य अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् रनआउट गरेका थिए।
१९औं ओभरको चौथो बलमा अभिनासले अली नासीरलाई ११ रनमा बोल्ड गरेका थिए। अन्तिम ओभरमा युएईलाई जितका लागि सात रन चाहिएको थियो। बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सकेनन् । अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासील हमीदले छक्का हिर्काएका थिए।




