काठमाडौं । माओवादीको नेतृत्वको दाबेदार कृष्णबहादुर महरालाई सुनकाण्डबाट जोगिन निकै कठिन हुँदै गएको देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र महरा चिनियाँ व्यापारीसँग ५० करोडको अडियो काण्ड र संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको यौनकाण्डबाट उन्मुक्ति पाउन सफल भए पनि सुनकाण्डमा भने दुई छोरासहित अनुसन्धानको दायरामा परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सुन तस्करीमा संलग्न चिनियाँसँग घनिष्ठ सम्बन्ध देखिएका महरा र छोराहरू निर्मल र राहुलमाथि अनुसन्धान अघि बढाएको छ । तर यसबारे सिआईबीले कतै केही सुइँको दिएको छैन । सुन तस्करीमा नाम जोडिएपछि महराका छोरा राहुल आफ्नोबारे जानकारी लिन र गराउन सिआईबी पुगेका थिए । सिआईबीले राहुललाई हालसम्म तपाईँको प्रत्यक्ष संलग्नता नदेखिएको प्रतिक्रिया दिएपछि राहुलले ठूलो राहतको सास फेरेको बताइन्छ । तर पनि अनुसन्धान जारी रहेकाले यसै भन्न सकिने अवस्था भने नरहेको बुझिएको छ ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई महरा परिवारले सघाएको सिआईबीको अनुसन्धानबाट खुलेको छ । गत पुस १० मा नौ किलो सुन लुकाएको चिनियाँ नागरिकको विद्युतीय चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको थियो । त्यो चुरोट लिलामी गराएर सुन तस्करी गराउने चिनियाँको योजना थियो । तर, बीचमै सुन रहेको विद्युतीय चुरोट भन्सार कार्यालयभित्रै साटिएपछि योजना असफल भएको थियो ।
चुरोट लिलामीका लागि राहुलले पटकपटक चिनियाँलाई सघाएको भनिएको छ । त्यो कुरा भन्सारकै कर्मचारीले पनि स्वीकार गरेका छन् । साथै, सुन तस्करी गर्ने चिनियाँसँग पटक–पटक उनीहरूबीच फोन सम्पर्क हुनुले पनि यसमा महरा परिवारमाथि शंका गर्ने प्रशस्त आधार रहेको बताइन्छ । तर, अहिलेसम्म सिआईबीले महराका तीनै बाबुछोरालाई सोधपुछ गरेको छैन । प्रधानमन्त्री र गृहमन्त्रीसमेत माओवादीकै भएकाले पनि महरालाई जोगिन्छु भन्ने आश छ ।
चुरोटभित्र लुकाएर सुन ल्याउने र त्यसलाई चोरेर बिक्री गर्ने दुई समूह रहेको प्रहरीको भनाइ छ । सुन चोरी गरी बिक्री गर्ने भन्सारका कर्मचारी रेवन्त खड्कासहितका व्यक्ति पक्राउ परिसकेका छन् । तर, सुन तस्करी गर्ने गिरोहको कोही पनि पक्राउ परेको छैन । तस्करीमा संलग्न चिनियाँहरू त्यतिबेलै भागिसकेकाले अनुसन्धान प्रभावित बनेको हो ।
सुनजडित भेप काण्डमा राहुल महराको नाम आए पनि अर्का छोरा निर्मल महरा यस प्रकरणका मुख्य नाइके रहेको सिआईबी स्रोतले बताएको छ । जडीबुटीदेखि सुनसम्मको तस्करीमा निर्मलको संलग्नता रहेको बुझिएको छ । चिनियाँ गिरोहसँग लामो समयदेखि संगतमा रहेका निर्मलले नै राहुललाई भेपमा ल्याइएको सुन बुझ्न खटाएको बुझिएको छ ।




