राजनीति

कर्नाटक चुनावले भारतमा कंग्रेसको फर्काएको साख

काठमाडौं । भारतमा बीजेपीले शासन गरेको नौ वर्ष बितिसकेको छ । अर्को वर्ष लोकसभाको निर्वाचन हुँदैछ । त्यसअघि विभिन्न प्रदेशमा विधान सभाको निर्वाचन भइसक्नेछ । हालै कर्नाटकमा विधान सभाको निर्वाचन भयो । निर्वाचनमा भारतीय कंग्रेस आईले सानदार प्रदर्शन गरेको छ ।

कर्नाटकको चुनावी नतिजाले कंग्रेसको मनोबल बढाएको छ । कंग्रेस अब राजस्थान, मध्य प्रदेश र छत्तीसगढको विधानसभा चुनावमा प्रवेश गर्नेछ । कर्नाटकको चुनावी नतिजाले यहाँका जनताले लगातार दोस्रोपटक कुनै पनि पार्टीलाई मौका नदिने देखाएको छ । यसपटक मतदाताले स्पष्ट जनादेश दिएका छन् । २०१८ जस्तै यसपटक भने त्रिशंकु सभाको अवस्था छैन ।

कर्नाटकको चुनाव राष्ट्रिय मुद्दाको सट्टा स्थानीय मुद्दामा केन्द्रित हुँदा कंग्रेस विजयी बन्यो । भाजपाका लागि दक्षिणको प्रवेशद्वार मानिने कर्नाटक आफ्नो हातबाट गुम्न पुग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको तुफानी प्रचारले पनि भाजपाको यो किल्ला बचाउन सकेन । यसपटकको चुनावमा कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो’ अभियानले पनि महत्वपूर्ण भूमिका निभाएको विश्लेषण हुन थालेको छ । कर्नाटकमा यस चुनावको विशेष कुरा कांग्रेसले स्थानीय मुद्दाहरूमा ध्यान केन्द्रित गर्नु थियो । उसले राष्ट्रिय मुद्दाहरूमा ध्यानाकर्षण गरेन । जबकि, प्रधानमन्त्री मोदीले लगातार ‘डबल इन्जिन’ सरकार र ‘केरला स्टोरी’ उल्लेख गरेर कंग्रेसलाई आफ्नो मैदानमा तान्न खोजेका थिए ।

जागरण लेकसाइड विश्वविद्यालयका उपकुलपति तथा राजनीतिक विश्लेषक सन्दीप शास्त्रीका अनुसार कांग्रेसले चुनावी प्रचारको अन्तिम चरणमा ‘जय बजरंगबली’को नारा लगाएको थियो । शास्त्री बीबीसीसँग भन्छन्, ‘कांग्रेसले जनताको ‘मुुड’ ठिकसँग बुुझेको छ । जनता दुःखी थिए र पार्टीले राम्रो प्रक्षेपण गर्यो । भाजपाको अभियानको कथामा कांग्रेस फसेको देखिँदै आएको थियो । तर, यसपटक उसले बदला लियो ।’

हिमाचलमा जस्तै कर्नाटकमा पनि कंग्रेसले महिलाको मुद्दामा ध्यान दिएको छ । पाँच ग्यारेन्टी योजनामध्ये दुई महिलासँग सम्बन्धित छन् । यसको प्रत्यक्ष असर महिलालाई परेको छ । कांग्रेसले बीपीएल परिवारका महिला प्रमुखलाई मासिक दुुई हजार रुपैयाँ र राज्य बसमा महिलालाई निःशुल्क यात्रा दिने वाचा गरेको छ । रामशेषन भन्छन्, ‘उज्ज्वला योजनाअन्तर्गत भाजपाले निःशुल्क ग्यास सिलिन्डर वितरण गरेको थियो । तर पटकपटक ग्यासको मूल्य बढेपछि त्यसको प्रभाव हरायो । यो गरिबमाथि खेलिएको क्रूर मजाक थियो ।’
कंग्रेसले बीपीएल परिवारलाई हरेक महिना २०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने वाचा गरेको छ । यससँगै स्नातक र डिप्लोमा भएकालाई दुई वर्षको बेरोजगारी भत्ता दिने घोषणा पनि गरिएको छ । बीपीएल परिवारका सदस्यलाई मासिक १० किलो चामल दिने वाचा पनि घोषणापत्रमा छ ।

उत्तर कर्नाटकमा धेरै सीटहरू छन् । अब उत्तर कर्नाटकमा जित्ने दल सरकार बनाउन निर्णायक हुने भएको छ । बम्बई–कर्नाटक जिल्लाहरूमा कंग्रेसले ५० मध्ये ३३ सिट जित्न सफल भयो । उसले हैदराबाद–कर्नाटक जिल्लामा ४० मध्ये २६ सिट पनि प्राप्त गर्यो । पुरानो मैसुरु जिल्लामा पनि अधिकांश सिटमा विजयी भएको छ । कर्नाटकको चुनावी नतिजापछि राहुल गान्धीमा थप आत्मविश्वास जगाएको छ । कंग्रेसले मल्लिकार्जुन खर्गेलाई अध्यक्ष बनाएकाले पनि कर्नाटकमा चुनावी नतिजा फरक भएको आकलन गरिएको छ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनको ट्रेलरका रूपमा कर्नाटकलाई हेरिएको छ । अब कंग्रेसले पाँच वर्षसम्म एक्लै सरकार चलाउने छ भने बीजेपी विपक्षमा बस्नेछ । राहुल गान्धीको सांसद पद खारेज गर्न मोदी सरकारले ठूलो दबाब दिएको विषय भारतीय जनतालाई मन नपरेको चुनावी नतिजाले देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *