काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।
९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् ।
मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ । सट्टेबाजी घरहरु सञ्चालन गर्नेसमेतको उद्देश्यबाट स्थापित संस्था सेभेन थ्रीलाई नेपालको प्रतिष्ठित आधिकारिक क्रिकेट प्रतियोगिता सञ्चालनको अधिकार दिने क्यानको निर्णय सुरुदेखि नै विवादमा मुछिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् ।




