काठमाडौं । बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारसम्मका लागि बैठक स्थगित गरका हुन् ।
आगामी आवका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएको हो ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि असार २ गते बसेको थियो ।




