काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन नेतृत्व छनोट गरेर आज शनिबार सम्पन्न हुँदैछ । जिल्ला कमिटीमा १५ जना र महासमिति सदस्यमा ११ जना निर्विरोध भए भने जिल्ला सभापतिका लागि तीनजना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।
जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामा, वंशलाल तामाङ र जंगबहादुर लामा चुनावी मैदानमा छन् । वंशलाल संस्थापन इतरका उम्मेद्वार हुन भने डा. प्रेमध्वज र जंगबहादुर लामा संस्थापन समूहका उम्मेदवार भएको बताइएको छ ।
नेपाली कांग्रेसको राजनीति गर्न त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशा त्यागेर जिल्ला राजनीतिमा प्रवेश गरेका प्रेमध्वजलाई पार्टी सभापति शेरबहादुर देउवाले सद्भाव राखेका छन् । जिल्ला राजनीतिमा सर्वशक्तिमान ठानिएका मोहन बस्नेतले भने जंगबहादुर लामालाई जिल्ला सभापतिको उम्मेदवार बनाएका छन् । यता संस्थापन इतरको उम्मेदवार बनेका वंशलाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष हुन् ।
तीनैजना उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको बताइरहेका छन् । यद्यपि सिन्धु कांग्रेसको चुनावी परिणाम पहिलो चरणमै आउने बताइएको छ ।




