काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन्।
महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिए।
अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे। उनले अध्यक्ष ओलीलाई मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए।
शर्माले भने, ‘कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ। मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु।’
उनले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गरे। शर्माले भने,’सामान्यतया निर्वाचन आयोगले अभ्यास कार्य गर्ने सन्दर्भमा दुई वटा कुरामा बढी केन्द्रित रहने गरेको छ। एउटा नेपालको संविधानले, निर्वाचनसँग सम्बन्धित नियमावलीहरूले दिएका र गरेका मार्ग निर्देशहरू। अर्को त्यसलाई कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा राजनीतिक दलहरू जो निर्वाचनको मुख्य अवयव हुन्छन्। निर्वाचनको मुख्य प्रतिष्पर्धीहरू हुन्छन्, ती दलहरूसँगको संवादहरू। यो दुई वटै कुराको सन्दर्भमा आयोगले निर्वाचनको प्रक्रियामा जाँदै गर्दा विशेष गम्भीरता पुर्याउनु पर्छ। आज कुनै एउटै दलले कुनै कुरामा प्रश्न उठायो। भोलि कुनै प्वाइन्ट आउनसक्छ, हामीले पनि प्रश्न उठाउने अवस्था आउनसक्छ। पहिला सैद्धान्तिक रुपमा क्लियर होऔँ। आयोगले गर्ने कुराहरु पारदर्शी हुने, दलहरूसँगको संवादमा बढी केन्द्रित हुने कुरालाई प्राथमिकता राख्नैपर्छ।’
आयोगले गरेको कुरामा प्रश्न उठाउँदै गर्दा हामी कति तार्किक छौँ भन्ने कुरालाई पनि हेक्का राख्नुपर्ने उनको भनाइ छ। कांग्रेसले अभियानको क्रममा ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ भनिरहँदा, अभियानकै क्रममा आचारसंहितालाई पालना गरेर मर्यादित ढंगले प्रतिष्पर्धा गर्न पार्टी पंक्तिलाई पनि प्रेरित गर्ने र प्रतिष्पर्धीहरूलाई पनि अपिल र आग्रह गरिने शर्माले जानकारी दिए।
‘विगतमा पनि मतपत्रमा हरियो थियो कुनैबेला। कुनैबेला रातो राखियो। कुनैबेला कालो राखिएको थियो। हामीले नै मत हाल्न उभिएका हौँ। मैले भन्दा बढी पटक त उहाँले नै मत व्यक्त गर्नुभयो,’ शर्माले भने,’ आयोगले यस बारेमा क्लियर पनि गरिसकेको छ। त्यसकारण कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ।’
उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरूको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिए। अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाएका थिए।




