काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।
माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ । तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ ।




