काठमाण्डौं । नेकपा माओवादी केन्द्र महाधिवेशनमा होमिएको छ । कुनै वेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनेर चिनिएको प्रज्ञा भवनमा माओवादीले महाधिवेशन गर्दैगर्दा चर्चा फेरि पनि प्रचण्डकै भइरहेको छ ।
करिव तीन दशकदेखि माओवादीको नेतृत्वमा र खुल्ला राजनीतिमा आएको १५ बर्षपछि हुन लागेको महाधिवेशनमा पनि उनी नै अध्यक्ष हुन लगभग पक्का छ । तर,सुप्रिमो प्रचण्डको वोली सुन्दा उनी यो पद लिइरहन चाहदैनन । महाधिवेशनको तयारीमा रहेका प्रचण्ड अध्यक्षको कुर्सी भन्दा पर वस्न चाहन्छन तर उनलाइ वाहिर बस्न साथीहरुले रोकिरहेका छन । खासमा यति लामो समय पार्टी सत्ता चलाइरहदा पनि उनलाइ अध्यक्षको कुर्सीबाट बाहिर जान नदिने साथी को हो ?
सामाजिक सञ्जाल ट्वीटरमा कुनैवेला माओवादीमै रहेका मुमाराम खनालले ब्यग्यवाण हान्दै भनेका थिए–त्यस्ता साथी पो साथी,जसले अध्यक्ष मै बसिरहनुस भनेर दवाव दिए । पदमा पुग्न जो कोही लालायित छ र जो पदमा पुगेको छ,उसले आजिवन यहि पदमा वसिरहन अनेक प्रपञ्च गरेको भेटिन्छ । तर,सुप्रिमोको कथा वेग्लै रहेछ । उनलाई पदबाट वाहिर जान दिइएको रहेनछ । अर्को हिसावले भन्ने हो भने उनी बन्धक रहेछन–साथीहरुको जो चाहदा पनि कुर्सी भन्दा पर वस्न सक्दैनन ।
यदि माओवादी अध्यक्ष दाहालको भनाइ सत्य हो भने यसको दुई अर्थ निस्कन्छ । एक,माओवादीमा एउटा त्यस्तो समुह छ,जो आफू अध्यक्ष हुने नदेखेपछि प्रचण्डलाई नै कुर्सीमा राखेर आफनो सत्ता चलाइरहन्छ । दुई,प्रचण्डले त्यस्तो पार्टी वनाएका रहेछन,जहाँ उनी बाहेक अर्को कोही अध्यक्ष हुनै सक्दैन ।
खासमा माओवादी भन्ने पार्टी प्रचण्डको हो । उनको जुँगा जता चल्छ,माओवादी उतै चल्छ । उनको वक्र दृष्टि पर्ने वित्तिकै माओवादीमा कोही टिक्दैन । त्यहाँ वावुराम टिकेनन,वैद्य वसेनन,विप्लव अटेनन,वादल गद्धार भन्दै एमाले पसे । त्यहाँ रौं नहल्लिएको प्रचण्डको मात्र हो । र,उनै प्रचण्ड साथीहरुले मानेनन भन्दैछन । के यो पत्याउने कुरा हो ? जुन दल प्रचण्डको औंलाको इशारामा चल्छ,त्यहाँ प्रचण्डलाई रोक्ने को हो ? केवल प्रचण्डलाई रोक्नसक्ने कोही छ भने भने त्यो प्रचण्ड मात्र हो ।
प्रचण्डको माओवादीको अहिले महाधिवेशन चल्न थालेको छ । राष्ट्रिय सम्मेलनको तयारी थियो–माओवादीको । तर,अचानक पुषको ठण्डीमा प्रचण्डले सम्मेनलाई नै महाधिवेशनको नाम दिनुपर्छ भन्ने सोचे र सकलदर्जाले हो भनेर ताली पिटयो । राष्ट्रिय सम्मेलन र महाधिवेशनमा कति फरक छ,हरेक माओवादीलाई थाह छ तर प्रचण्डले भनेपछि त्यो भेदको पनि अब अर्थ रहेन । जसरी एकै निर्देशनमा महाधिवेशन भयो,उसैगरि अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि अध्यक्ष हुनेछन ।
विशाल माओवादी आज फुच्चे भएको छ । काठमाण्डौं छिर्दा कीर्तिपुरदेखि टुडिखेलसम्मको विशाल जनसागर देखेका प्रचण्डसँग आज हिजो युद्ध लडदाका सारथी खास कोही छैनन । वावुरामले रेड स्टिकर टाँसे हुन्छ भनेर कडा वाण हानेको माओवादी अब चल्न सक्दैन भनेर एमालेसँग विलिन भएपनि केपी ओलीले असहय वेदना सहन नसकेर पुन: मुसिको भव भने झैं माओवादी भयो । फेरि पनि अध्यक्ष दाहाल नै होलान, माओवादी भन्ने पार्टीले चुनाव पनि जित्ला तर यसले राष्ट्रिय राजनीतिमा अव गर्ने के हो ? माओवादीकै एकजना सांसद गजेन्द्र महत वारम्वार भनिरहन्छन–अब प्रचण्डले केही गर्न सक्दैनन । उनीबाट हुने यति हो । बरु उनलाई दलाल पुजिपतिले प्रयोग गरिरहनेछन । साच्चै नै वढी भए प्रचण्ड अनेक ताल मिलाएर फेरि प्रधानमन्त्री होलान तर देशलाई उनले गर्न सक्ने यति नै हो ।




