राजनीति

कांग्रेस महाधिवेशनः लुम्बिनी, गण्डकी र सदूरपश्चिममा मतदान सकियो, आजै मत गणना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत यतिबेला प्रदेशसभा अधिवेशनको नेतृत्व चयन प्रक्रिया जारी छ । अहिलेसम्म प्राप्त समाचारअनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशसभाको लागि नेतृत्व छनोटका लागि मतदान सकिएको छ । आजै मत परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशमा शनिबार बिहान पौने १० बजेदेखि मतदान सुरु भएको थियाे । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन् । दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूकाे भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । कास्कीमा तीन निर्वाचन क्षेत्र छ । जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भुगोलको प्रभाव पर्याे भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताकाे अनुमान छ ।

सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ। १ हजार ३ मत खसेको छ। आजै राति ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा मत गणना हुने प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए।

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ। ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ। यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीनजना निर्विरोध चयन भएकाले ५६ पदका लागि मतदान भएको निर्वाचन समितिले जनाएको छ। कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।

मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वाँर र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।

यता, नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कूल एक हजार ६८० मतदाता मध्ये एक हजार ६३१ जनाले मतदान गर्दा ३९ जना अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्व सभापति अमरसिंह पुन प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बिहान साढे ८ बजे मतदानको समय तय भएको भए पनि सहमतिको प्रयासले केही समय विलम्ब भएपछि ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो । भैरहवाको महेन्द्रसभा गृहमा भएको मतदान साँझ साढे ५ बजे मात्रै सकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए । उनले शनिबार बिहान पनि दुई पक्षबीच सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मतदानको कार्यक्रम अघि बढेको थियो । सहमतिका लागि कांग्रेस नेताहरू भन्द्र भण्डारीलगायतले पनि प्रयास गरेका थिए ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा नौ जिल्ला सभापतिले अमरसिंह पुनलाई समर्थन गरेका छन् भने दुई जिल्लाका सभापतिले शाहलाई समर्थन गरेका छन् । बाँके जिल्लामा भने अधिवेशन भएको छैन । अव केही बेरमा मतगणना हुने र आइतबारसम्म परिणाम आइसक्ने निर्वाचन समिति संयोजक थापाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *