राजनीति

‘नायक’ भीम रावलको हुर्मत लिन ओली असफल

काठमाडौं । हामीकहाँ जित्नेलाई मात्र नायक भन्ने चलन छ । तर नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएर पनि भीम रावल ‘नायक’ सावित भए । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत हुने महत्वाकांक्षालाई भीम रावलले चुनौति मात्र दिएनन्, प्रतिस्पर्धात्मक राजनीतिको पाठसमेत एमालेलाई सिकाए ।

भीम रावललाई अध्यक्ष पदमा उम्मेदवारी नदिन ओलीले सम्पूर्ण अस्त्र उपयोग गरे । सुरुमा फकाउने, गलाउने र त्यसपछि तर्साउने काम भयो । जसका कारण महाधिवेशन दुई दिन पर धकेलियो । जसका कारण कार्यकर्ताले सास्ती मात्र खेप्नु परेन, खर्चसमेत दोब्बर बढेर गयो ।

ओलीले भीम रावललाई अध्यक्ष पदमा उम्मेदवारी नै नदिने वातावरण तयार पार्ने प्रयास गरेका थिए । त्यसका लागि कूटनीतिक अस्त्रदेखि लिएर उनका नजिकका नेता कार्यकर्तालाई भीम रावललाई मनाउन लगाइयो । तर ती कुनै पनि अस्त्रले भीम रावल गलेनन् ।

त्यसपछि ओलीले गलाउने अस्त्र प्रयोग गरे । दुई दिनसम्म महाधिवेशन लम्ब्याएर कार्यकर्तालाई भीम रावल लखेट्न लगाउने योजना बनेको थियो । त्यसका लागि कार्यकर्ता र मिडियासमेत तयारी अवस्थामा थिए । ओलीको यो धम्कीबाट भीम रावल गल्नेवाला थिएनन् । लम्बिएको समयमा उनले मिडिया र ओली नजिकका कार्यकर्ताको ठूलै चुनौति सामना गर्नु परेको थियो । यद्यपि उनी टसको मस भएनन् ।

ओलीका सबै अस्त्र भुत्ते भएपछि अन्ततः निर्णय मतदानमा पुग्यो । भीम रावलले स–सम्मान २ सय २३ मत ल्याए । अध्यक्ष ओलीले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई स्वीकार गर्न नसक्दा कार्यकर्ताले यति धेरै दुःख पाए, खर्च बढेर गयो । तर एमाले कार्यकर्ता वृत्तमा भीम रावलविरुद्ध गालीगलौजमा उत्रिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *