काठमाडौं । अबको तीनसाताभित्र नेपाली कांग्रेसमा नयाँ नेतृत्व विराजमान हुँदैछ । पार्टीको निर्धारित कार्यतालिका अनुसार यतिबेला धमाधम महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको छनोट हुँदैछ । छनोट भएर आएका ती प्रतिनिधिले नेपाली कांग्रेस हाँक्ने नेतृत्व छनोट गर्नेछ ।
कसको नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्छ भन्ने बहसले यतिबेला व्यापकता पाएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी स्वभाविक भए पनि संस्थापन इतरबाट को–कसले उम्मेदवारी दिन्छन् मोटामोटी निक्र्योल भइसकेको छ । तर ‘किइ’ प्लेयरको स्पष्ट खाका आइसकेको छैन ।
संस्थापन इतरबाट साझा उम्मेदवारको सम्भावना टरिसकेको छ । यतिबेला संस्थापन इतरबाट सभापतिमा उम्मेदवारी घोषणा गरेकाहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । प्रकाशमान सिंहले उम्मेदवारी दिने लगभग पक्काजस्तै छ । कोइराला समूहबाट को उम्मेदवार बन्छन् भन्ने टुंगो अहिलेसम्म लागिसकेको छैन । महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजता कोइराला तिनैजनाले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
महामन्त्री शशांक कोइराला ‘बलियो हराउने’ उम्मेदवार आफू भएको दाबी गरिरहेका छन् । उनी आफू जित्ने कुरा गर्दैनन्, हराउने कुरा मात्र गर्छन् । शशांकले कसलाई हराउँछ, त्यो अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
संस्थापन इतरबाट साझा उम्मेदवार घोषणा गर्न नसके यसपटक पनि सभापति पद किस्तीमा हालेर देउवालाई बुझाइ दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका शशांकले कोइराला समूहबीच भएको सहमति तोडेर सभापतिको उम्मेदवार घोषणा गरेका हुन् । उनको चरित्र अहिलेसम्म कसैले बुझ्न सकेको छैन । उनी कहिले सभापति देउवालाई भेट्छन भने कहिले प्रकाशमान सिंहसँग भलाकुसरी गर्न चाक्सीबारी छिर्छन् ।
सभापति देउवासँगको भेटमा महामन्त्री शशांकले के कुरा राखे त्यो अहिलेसम्म बाहिर आएको छैन । यद्यपि पार्टीमा सम्मानित पोस्ट पाए शशांक सभापतिको उम्मेदवारीबाट ‘ब्याक’ हुने चर्चाले कोइराला समूहलाई निराश बनाएको बताइन्छ । यदि उनी सभापतिको उम्मेदवारबाट ब्याक भए भने ‘हराउने बलियो उम्मेदवार’ सावित हुनेछ । सभापति देउवाले शशांकलाई आफ्नो टिममा तान्न सके भने सहजै सफलता हासिल गर्छन् भन्ने कुरामा दुई मत रहँदैन ।




