रिबन

राष्ट्रपति भण्डारीद्वारा तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को कार्तिक २२ गतेको बैठकको सिफारिश अनुसार प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी र उनी अघि गोविन्दबहादुर तुम्बाहाङ प्रदेश प्रमुख थिए । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ सालमा तुम्बाहाङलाई पदमुक्त गरेर प्यासीलाई प्रदेश प्रमुख बनाएको थियो ।

त्यस्तै कर्णाली प्रदेशमा हाल गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका थिए । तत्कालिन ओली सरकारले दुर्गाकेशर खनाललाई हटाएर कलौनीलाई कर्णालीको प्रदेश प्रमुख बनाएको थियो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा हाल गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए । त्यसअघि प्रदेश प्रमुख रहेका मोहनराज मल्ललाई हटाएर ओली नेतृत्वको सरकारले २०७६ शर्मिला त्रिपाठी र २०७८ बैशाखमा यादवलाई नियुक्त गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *