राजनीति

एमालेको उत्तराधिकारी मदन भण्डारीकी छोरी !

काठमाडौं । अब नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उत्तराधिकारी मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी सुम्पन रणनीति गोप्यरुपमा बन्दैछ । मदन भण्डारी परिवारलाई नै पार्टी नेतृत्व सुम्पने अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार नै रणनीति बनेको हो ।

नैतिक रुपमा पार्टी अध्यक्ष बन्न राष्ट्रपति विद्या भण्डारीलाई नमिल्ने भएपछि छोरी उषालाई अगाडि सारिएको हो । अहिले जति पनि पार्टी विवादमा राष्ट्रपति विद्याको चासो गम्भीर रुपमा हुने गरेको छ । मर्यादा मिचेरै एमाले पूर्वअध्यक्ष झलनाथ खनाल निवासमा समेत पुगेर पार्टी विवाद मिलाउने प्रयास राष्ट्रपति भण्डारीले गरेकी थिइन् ।

एमालेको विधान हेर्दा अझै पाँच वर्ष ओली नै पार्टी अध्यक्ष बन्नेछन् । ११औं महाधिवेशनमा अहिले ६७ वर्ष उमेरभन्दा माथिका सबै नेता रिटायर्ड हुनेछन् । आफू ७५ वर्ष पुगेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक रुपले पार्टी अध्यक्ष बन्न नमिलेपछि उनकी जेठी छोरी उषाकिरण भण्डारीलाई नेतृत्वका लागि योग्य उम्मेदवार बनाउने रणनीति अख्तियार गरेको बुझिएको छ ।

एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरणलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने भित्री तयारी भएको छ । उषाकिरण अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरणलाई ओलीले १० औं महाधिवेशनमा सचिव बनाउने तयारी गरेका छन् । एमाले महाधिवेश मंसिर ९–१२ सम्म चितवनमा आयोजना हुँदैछ । यदि उषाकिरण पार्टी राजनीतिमा आएमा एमालेको विरासत मदन भण्डारी परिवारमा पुनः फर्कने निश्चित रहेको बताइन्छ ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमले नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादवको छोरासँग विवाह गरेकाले उषाकिरणले नै भण्डारी परिवारबाट एमालेको राजनीतिमा भविष्यमा नेतृत्व लिने बुझिएको छ । एमाले नेतृत्वमा आउन खोजेका ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य भने त्यतिकै रिटायर्ड हुने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *